Last modified on 9 अक्टूबर 2018, at 15:16

कविता लेख्न सिकाइमाग्ने बहिनीलाई / कुन्ता शर्मा


सानी बहिनी
तिमी वासन्ती कोपिलाजस्ती छौ
प्यारी बहिनी
तिमी मीठो धुन सुसेल्ने खोलोजस्ती छौ
सारा कुटिलताहरूसँग अनभिज्ञ
जीवनका जटिलताहरूसँग अपरिचित
भर्खरै शिर उठाउने कोपिलाजस्ती छौ
तिमी आकाश–धरती छोएर खस्ने
इन्द्रेनीजस्ती छौ ।
प्यारी बहिनी
तिमी कविता लेख्न चाहन्छ्यौ ?
मनका कोमल भावनाहरूलाई
सत्यका सुन्दर सन्देशहरूलाई
शब्दहरूमा, वाक्यहरूमा भर्न चाहन्छ्यौ ?
प्यारी बहिनी कविता लेख्ता
कसलाई प्रहार गर्नुपर्ने हो
कसको संहार गर्नुपर्ने हो
कसलाई अँगाल्नुपर्ने हो
कसलाई पतनका खाल्डामा हाल्नुपर्ने हो
कसका लागि स्नेहको मुहान बन्नुपर्ने हो
कसका लागि चिहान खन्नुपर्ने हो
कसलाई धारे हात लगाउनुपर्ने हो
सुस्पष्ट सीमारेखा कोर्नुपर्छ तिमीले
विचारको दृढ देहयष्टिमा
कलाको सुन्दर रङ भरेर
उच्च आकाङ्क्षाका लागि
तुच्छ महङ्खवाकाङ्क्षा फालेर
चेतनालाई परिस्कृत पार्दै
कलमलाई धारिलो तरबारजस्तो
बनाउनुपर्छ तिमीले
दृढ विचारलाई
सुन्दर कलाले सजाउनुपर्छ तिमीले ।

पर्खाल उभ्याउन आफ्नो स्वार्थको
अरूको पसिना चुस्नेहरूलाई
खोसेर अरूको अमनचयन
राक्षसी अट्टहास गर्नेहरूलाई
जिन्दगीलाई दयनीय बनाउने जोजो छन्
तिनीहरूलाई नाङ्गेझार पार्नुपर्छ तिमीले
कवितालाई बलियो हतियारजस्तो
बनाउनुपर्छ तिमीले ।

अकर्मण्यताको बलिवेदीमा चुपचाप
शिर झुकाएर बस्ने बेला छैन
उद्दण्डताको नालीबेली
किंकत्र्तव्यविमूढ भएर सुन्ने बेला छैन
जुटून् क्लान्त भएका मनहरू
उठून् अशान्त भएका मस्तिष्कहरू
सबै–सबैका लागि
प्रेरणाको अजस्त्र मुहान बन्नुपर्छ तिमीले
आफ्ना सुन्दर शब्दहरूको शङ्खघोषले
निधाएको परिवेश ब्यूँझाउनुपर्छ तिमीले ।
सुन, प्यारी बहिनी सुन
तिमी त्यस्ती कलाकार हौ
जसका मूर्तिहरू सुरूसुरूमा
खस्रा र अनाकर्षक हुन सक्छन्
आफ्नो मात्र प्रशंसा रूचाउनेहरूले
तिमीलाई खिसीटिउरी गर्न सक्छन्
तिमीलाई लुछेर फाल्न सक्छन्
निर्ममतापूर्वक जरैसँग उखाल्न सक्छन्
त्यसैले सबैसबै कठिनाइहरूको सामना गर्दै
उडाएर साहसका वायुपङ्खीहरू
सुदुर गन्तव्यको यात्रा थाल्नुपर्छ तिमीले
जीवनका लागि, जगत्का लागि
सुन्दर अनि सशक्त कविता लेख्नुपर्छ तिमीले ।