Last modified on 6 जुलाई 2020, at 10:41

कसरी देखाऊँ ओँठमा हाँसो चिरेर छाती यो ! / रवि प्राञ्जल

कसरी देखाऊँ अोठमा हाँसो चिरेर छाती यो !
सिस्नु झैँ पोल्छ दशैँको बेला फूल र पाती यो ।

उस्तै छ घाम उस्तै छ जून उता त्यो शहरमा,
गाउँमा घाम लाग्दैन अचेल कालो छ राती यो ।

ए चरी ! मेरो यो खबर अब पुर्याइ दे उसलाई,
उसैको यादमा जलेको छाती हुँदैन जाती यो ।

शरदको बेला फुलेन फूल, फर्केन प्रियतम,
न निभ्छ झ्याप्प न बल्छ झल्ल मनको बाती यो ।