हो,
महाकालको अनन्तता पनि सम्झाउँदै
यहाँ फेरि अहिले घण्टी लाग्यो :
महाकाशको असीमता पनि बिर्साउँदै
झुण्झ्याइएको तर्लङ्ग त्यहाँ फाटकमा
विकृत भइसकेको घाइते
(आफ्नै प्रतिरूप)
त्यो पारिएको फलामे घण्टीलाई
तर नपारिएको खुकुरीले सन्तरीको
सबभन्दा धेरै प्रहार पर्यो,
अनि त सँगसँगै
यो रातको निस्तब्धता एकाएक कहाली उठ्यो -
टङ् टङ.... टङ् टङ....
बाह्र !
(यो आधारातमा)
बल्ल एक दिन काटियो।
बेस भयो!
यहाँ तर,
जीवन फाटकको त्यो पारिएको फलामे घण्टी नै हो,
--- तर्लङ्ग, विकृत र कठोर घाइते अचानो;
अनि समय काटिइने यही थोक !
यो कारागार न हो,
अनि राखिएको छु म भित्र ।
यो साँधमा तेर्सिन पुर्याइएछु
कस्तरी म
हिजो र आजको!
जो छु हिजो छँदैछ, जो हुनेछु आज हुन्यैछ।
नभन्दै बाँच्नु छ यहाँ वर्तमानमा
बेह्रिएर आफ्नै तन्तुले कोया आफूलाई लार्वा तुल्याएर,
वा महाकालको यो अथाह पोखरीमा चक्राकार तरङ्ग
––साँध यो बनाएर म तैन्तलास ।
सापेक्ष्यको कुरो न जो,
मैले कहिल्यै बुझ पचाएको छैन ।
मेरो हिजो मेरो
आफ्नै थियो
(इतिहासको पहुँच भएदेखि यसो)
भए पनि पसीना, आँसु र रगतको :
यो पसीना धरतीको सीताको,
यो आँसु प्राणीको गौतम बुद्धको,
यो रगत मनुष्यको भीमसेन थापाको;
नितान्त मानवीय!
तर हो कि चरम ट्रेजेडी यो संसारको ?
कस्तै साँधले पनि छेकारो हाल्न नसकेको मेरो हिजो
तर स्वयं आज साँध बनेर म बीच भएर
(फाटकको त्यो पारिएको फलामे घण्टीमा)
यसरी तेसिन पुर्याइएछु ।
यो साँधमा तेसिन पुर्याइएछु-
ज्ञान अनि अज्ञानको,
सत्य अनि मिथ्याको.
जन्म अनि मृत्युको;
यो जीवनको!
(कुनचाहिँ हो कुन्नि यस्तो आधारातमा पनि
सोर खोलेर कति ढुक्कै गाइरहेछ -
"दार्जेलिङको दार्जेलिङको सीमाना बताउँछु म,
पूर्व-पश्चिम, उत्तर-दक्खिन सीमाना बताउँछु म !"
गीतले भन्दैछ -
तँ सानो हुँदा स्कूलमा गाएको यो
अहिले मै तँलाई गाइरहेछु !)
हो,
मेरो हिजो -
उब्रिएको होइन जागटी हो
साँचिएको हो उपलब्धि यो
नभई नहुने जो पछिलाई पनि
(-------- यो आजलाई अनि अहिलेलाई)
बासी त हुने नै भयो,
परिरक्षित छ तर यो पूर्णतया
पिरामिडको डब्बामा राखिएका ममी में
यो मानव-संस्कृति !
आमाको दूध दुहेर तुल्याइएको कन्डेन्स्ड मिल्क
यहाँ जस्तो भए पनि खान्छु
जबकि मै भतेर म खान्छु
मेरो लागि अरूले त्यस्तरी खाइदिएर हुन्छ कतै ?
दह्रो आँत जे भए पनि मैले पार्नु छ
दह्रो मुटु !
हर्दम –
लड्नु यी लड़ाई
लड़ाई यी जित्नु
जित्नु यी बाँच्नु ।
हुनुको लड़ाई
नहुनुको बिरुद्ध ।
विरुद्धदेखि बच्नु
तर्किनु मात्र,
नहुनु भएर पनि।
अनि बच्नु केवल
-नबाँच्नु
टार्न खोज्नु खालि यहाँ मृत्युलाई पनि !
नपाइने छ यहाँ के?
निहुँ नै कारण,
विना कारण पनि कारण ।
मात्र कार्य होइन,
म नै एउटा कारण।
म नै एउटा निहुँ –
सर्वत्र खोजिएको, खोजिरहेको, खोजिइने ।
म स्वयं मित्र आफ्नै शत्रु
स्वयं शुभ अशुभको, अशुभ शुभको;
अकारण कार्यको, अकार्य कारणको।
विकासको क्रममा यो युद्ध !
अड़ेको निहित मर्मस्थलमा
धर्मसंस्थापनार्थ स्वयं श्रीकृष्णद्वारा
निरस्त्र कर्णमाथि शस्त्र म
कस्तरी चलाउन लाइएछु !
विकासको क्रममा यो म्युटेशन !
मुक्तः परमाणु ऊर्जाबाट उत्पन्न
विकिरणहरू यिनैद्वारा
मेरो आज अपहरणको लागि
यस्तरी प्रयोग गराइएछु !
मेरो आज
मेरो आफ्नै छैन:
म यहीं छु र पनि यहीं म छैन,
मेरा सबै छन् र पनि मेरो कोही छैन,
मेरा सबै थोक छन् र पनि मेरो केही छैन,
म सबैको लागि छ र पनि म कसैको लागि छैन,
सबै मेरा लागि छन् र पनि मेरो लागि कोही छैन,
म छ र पनि म छैन !
म छैन?
साँच्चै मेरो म-को यहाँ अस्तित्वै छैन ?
अपहृत मेरो आज अनि अनिँदो अनुहार लिएर
नितान्त असहाय म
यस्तरी एक्लिन पुर्याइएछु ।
यो साँधमा तेर्सिन पुर्याइएछु
कस्तरी म
अघि र अहिलेको!
यहाँ तर,
जीवन फाटकको त्यो पारिएको फलामे घण्टी नै हो,
तर्लङ्ग, विकृत र कठोर घाइते अचानो,
अनि समय काटिइने यही थोक !
यो कारागार न हो,
अनि राखिएको छु म भित्र ।
अब सुत्नु पनि पर्ला.....
रात म जस्ताको लागि सुतिदिनुलाई नै त हो!
जुत्ता भए पनि विचार फुकालेर पर ओछयान पस्थेँ,
छट्पटिएर हुन्छ यहाँ कतै ?
मस्त निदाउन, सुखद सपना देख्नै पर्छ सुत्दा
भन्ने पनि के छ!
मैले त यहाँ सपनामा
आफ्नै लाशलाई काँध लाएर श्मशान-घाटमा
आगो समेत लगाइदिएको छ,
आफ्नै दिवंगत आत्माको शान्तिको लागि मौनता धारण गरिसकेको छु
(लम्बिन्छ' रे यो आयु!)
सपनामा मैले सपने पनि देखेको छु,
कति त ब्यूँझनासाथै बिर्सिपठाएको छु।
विपनै भोगिरहेछु यहाँ ट्रेजेडी जीवनको :
सताउँछ हर्दम आफैँले
खुच्चिउँ मच्चाउँछु,
अनि जाइलाग्छु आफैँमाथि ।
जुन नाटकको प्रोततागोनिष्ट अर्को को हुन्छ?
आफ्नो आफे होइन्छ !
जीवनको त्रास र मृत्युको आशमा पनि
हमर्तिआ म---
लड्नु यी लड़ाई
लड़ाई यी जित्नु,
जित्नु यी बाँच्नु,
थिएँ, छु-ले नपुग्नु,
हुनेछु-का निमित्त।
अनि त जाग्रतावस्था वा स्वप्नावस्थाभन्दा पनि उच्चावस्थामा
दुर्घटना होला भयङ्कर वा हत्या होला भयानक
अनि होला पनि गर्भपात यहाँ कति प्रेक्षकको
(जान्दाजान्दै पनि तमाशा सम्झने गर्भिणी भएर पनि)
अरू के होला, ऐठन त होला वा स्वप्नदोष !
बस मैले सुतिदिनुछ,
आउँदो बिहानीलाई त यहाँ
निदाएरै कुरिदिनुपर्छ;
यो अनिँदो अनुहार लिएर कसरी स्वागत गर्ने मैले ?
---“असतो मा सद्गमय, तमसो मा ज्योतिर्गमय ।"
तर मात्र यही पुनरावृत्ति हो भने
त्यो बिहानी कहिल्यै नहोस्,
बरु मेरो भोलि कहिल्यै नहोस् !
त्यो भोलि पनि --
चुँडालिनु आजदेखि,
स्वीकार गरिदिनु सबै थोक,
अनि हुनु केवल स्थिति-अनुकूल
मात्र गृहीत भइदिनु यहाँ यो जीवन ?
लिएर यही --
अपहृत आज अनि अनिँदो अनुहार
ग्रहण गरिदिनु त्यो अन्तिम फैसला
--- यहाँ मृत्यु-दण्ड !
यो कारागार न हो,
अनि राखिएको छु म भित्र ।
मेरो आज
मेरो आफ्नै छैन यहाँ।
कस्तरी अपहृत छ यो,
अनि बुझाउन मेरै मूल्यहरू जीवनका
चाप परिरहेछन् यस्तरी ममाथि ।
खोसिएका छन् यहाँ सबै मेरा
-- मौलिक अधिकारहरू धरि।
सिजोफेनिआग्रस्त अहो यो आपत्काल !
यो साँधमा तेर्सिन पुयाइएछु --
न्याय अनि अन्यायको,
समानता अनि असमानताको,
जन्म अनि मृत्युको,
यो संसारको!
शून्यता यो कहाली उठ्छ
गुहार ! .. ...
लेसे फेयर ! लेसे फेयर !! लेसे फेयर !!!
अहँ, थुरिँदैन कहीँ,
सुनिदैन कसैलाई
अनि त यो निष्पट्ट अन्धकारमा
(म यीः राम्रै थाहा पाइरहेछ )
खुल्ला बलात्कार हरे,
न्याय र अधिकारको कानूनद्वारै !
थमाइदेऊ मलाई,
मान्छे भएर यहाँ जन्मेको सजायको एउटा भुत्ते नै भए पनि खुकुरी,
सहन सक्दछु म आत्महत्या रेटेर,
अँह, तर सहन सक्दिनँ यो
म खप्न सक्दिनँ मौनता यो –
---कमसे कम भाषाको,
व्यक्त नभई रहन सक्दिनँ
---कमसे कम यी अक्षरमा !
बैना मारेको हो यो मेरो आज
(जो अपहृत छ तर मैबाट)
समयलाई हिजोले,
प्रतिष्ठापित गरिन यहाँ
---समानाधिकार, न्याय र सत्यलाई साँचोरूपमा ।
अनि कत्रो अनिकाल पर्न गएको छ जसको!
जो पुयाउनै सकेन यो हाम्रो दैवले,
उफः, कति काटिरहने त्यही बाली
---यहाँ यातना र पीड़ाको!
अब मान्छेले आफैँ ऊबाट खोसेर लिन सक्नुपर्दछ, -
नत्र चोरेरे होस् सही
---प्रमेथिअसले आगो जस्तै ।
आगो : न्याय
---अन्तिम परीक्षा!
न्याय डढ्दैन है ज्वालाले यहाँ
---सीता जस्तै,
तर मर्नचाहिँ भने सक्छ
-- सती जस्तै;
अनि त ताण्डव-नृत्य हुनैपर्दछ यहाँ त्यो हलाहल पिउने शिवको
(डिम् डिम्, डिम् डिम...... )
---"शिवोऽह' शिवोह !" .