भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

कुज्जवर्तिनी विप्रलव्धा / लेखनाथ पौड्याल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


कोरी केश सफा गरी, फुल जडी टेढा झिकी कुन्तल
लाई लालि कपोल, ओठहरुमा आँखाविपे गाजल ।
औठी हारहरु डटी चहकिला पोशाक सारा चुनी
आई कुन्जविपे अली छिन बसी बोली नयाँ कामिनी ।।१।।

फेला पर्न गये म धूर्तजनका, सङ्केत-बेला गयो
व्यर्थैमा विचरी यसैबिच परे, कस्तो हरे ! कर्म यो ।
जाऊँ हाय ! कहाँ, गरुँ अब कसो, पोखूँ कहाँ यो पिर
होला शान्त कसो गरी हृदयको यो दीर्घ-‌चिन्ता-ज्वर ? ।।२।।

जो मैले रसिलो मनोरथमय-प्रासादमाथी झुली
देखेथें सुखको अनन्त सपना जाली कुरामा भुली ।
त्यो सम्पूर्ण भरङ्ग भो पलकमा, वाधा पर्यो दुस्तर
छाँगाबाट खसी झल्याँस्स बिउँझे दुर्भागिनी आखिर ।।३।।

काला बादलको सहोदर ठूलो नैराश्य-पर्दा गिरी
पैले नै सब खेल चौपट भयो निर्मूल भे माधुरी ।
लायो दृष्टि जता, उतै मन रुने केही नही कौतुक
पापी निर्दय सूत्रधार शठको कस्तो कडा पातक ।।४।।

लज्जालाइ थिची, परिश्रम मिची, शङ्का हटाई सब
छाडी मान चटक्क, मित्र मनले तोडी सती-गौरव ।
तेत्रो यत्न गरी म कत्ति नडरी आयें यहाँ जो भनी
सो मेरो खबरै पनी नगरने कस्तो हरे ! बैगुनी ।।५।।

यै हो कुन्ज रखी ! यही बस तिमी शय्या छ यो प्रस्तुत
पक्का भेट हुनेछ, लेट यसमा, हुन्छू विदा लौ म त ।
भन्ने बात गरी छलीकन चली जाली सखी पापिनी
व्यर्थै हाय ! म एकली हुन गयें आखीर सन्तापिनी ।।६।।

चाराका रसरङ्गले वदनमा बल्छी विषालू गडी
उत्रेकी थलमा परेर छलमा मत्सी सरी भै लडी ।
यस्तो दर्द खपी असंख्य तडपी भोगेर यो दुर्गति
बाचूँला म कती अवश्य विधिले मेरो पुर्यायो मिती ।।७।।

थाल्यो पोलन वायुले, शिर घुम्यो पाऊ बिछट्टै गले
ज्यादा स्वस्थ भयो शरीर मनमा पैरहा हजारौं चले ।
छाती गैह्र शुकीशक्यो, सब फिका देखिन्छ संसार यो
कस्तो लग्न रहेछ आज हिँडदा हा ! दैव ! यो के भयो ।।८।।

विस्तारै वनभित्र पक्षिहरुले हल्लाउँदा स्याउला
तेसै हत्तरपत्त हर्ष-लहरी उर्लेर साह्रै ठुला ।
लौ आये अब ता भनी, मनमनै आनन्दले मस्कदैं
हेरें हेरनुसम्म मार्ग शठको मैदानमा निस्कदैं ।।९।।

सन्नाटा छ जताततै, हृदयको काँटा बन्यो कुन्ज यो,
बाटामा टक लाउँदा नयनमा टाटा पनी देखियो ।
सुस्केरा बहुतै बढयो, अधरमा कालो कलेटी पर्यो
आशा जीवनको मर्ये कितबले हा ! दैव ! गर्नु पर्यो ।।१०।।

पापी प्राण हिडूँ भनी भइशके माथी गलामा खडा
सम्झन्छु मनले पला पनि हरे ! कल्पान्त जस्ता कडा ।
गर्नू के, सुझदैन भित्र मनमा कर्तव्य केही पनी
खाली हाय ! बलीरहेरेछ मदन ज्वाला ठुलो दन्दनी ।।११।।

पर्ख, शव्द सुनें, बसें, शयनमा लेटें, उठें, झोक्रियें,
हेरें मार्ग, घुमें, चटक्क चुँडियें, फर्कें, शुकें, आत्तिएं,
टोल्हायें, मनले झलक्क समझें, झस्कें, कुनामा गयें,
निस्के, दृष्टि दियें, फिरें, धुरुधुरु रोयें म हा ! के भयें ।।१२।।

चिन्ता-सागरको अघोर गहिरो कालो महाभीषण
भारी तर्क-वितर्करुप भुमरीमा फाल हालीकन ।
हंसीतुल्य बनी घुमी फनफनी लाखौं कडा चक्कर
खाँदै आखिरमा रसातल पुगें पायीन केही सुर ।।१३।।

कस्तुरीमद चन्दनप्रभृतिको जो लेप ये अङ्गमा
पैह्रेथें पहिले बडा प्रणमले मैले कुन रङ्गमा ।
त्यै तेजाव-समान भै ह्दयमा नेजा दिंदैं बेसरी
थालेको छ जिऊ जलाउन सबै हा ! दैव ! गर्नू गरी ।।१४।।

छातीको रमणीय हार फुलको प्रत्यक्ष तर्बार भो
सारा मन्जु विहार-योग्य भरिला शृङ्गार यो भार भो ।
ज्वाला मन्मथको बढयो अति कडा, बाधा असम्भार भो
कस्तो कर्म रहेछ हाय ! रसिलो संसार नि सार भो ।।१५।।

आशा-पाशमहाँ फसीकन यहाँ आयेर भै तन्मय
बाटो केवल हेरदा भइशक्यो हा ! दैव चन्द्रोदय ।
फर्कू फर्कनलाई मौसर नही अर्कै कुराको भय
पर्खू केहि घडी भने परिसक्यो प्राणैविषे सशय ।।१६।।

यस्तो यो गहिरो पसी नशकनू लाखौं लता-पाशले
जेलेको घन कुन्जभित्र घुसदा अन्योल भैं आशले ।
साह्रै रङ्मगियें कतैतिर पनी पायिन्न केही पता
गङ्गा झैं शिव जटाबिच हरे ! तेसै हरायें म ता ।।१७।।

कुम्भीपाक-समान भो कुसुमको शय्या मलाई सब
सम्झन्छू असिपत्र झैं अति कडा राम्रा नयाँ पल्लव ।
मुक्ताहार मृणाल वैतरणि झैं ठान्छू म दु स्पर्श यो
उत्कण्ठा सुखको लिंदा नरकको सारा छटा देखियो ।।१८।।

काली अन्तक-दूतिका कटुमुखी यो पापिनी कोकिला
कुन्जैनेर बसी रसाल तरुमा खोली विषालू गला ।
कुर्लन्छे यसरी कडा विष छरी मेरा दुवै कानमा
राखूँ प्राण कसो गरी अब हरे ! धक्का पर्ये ज्यानमा ।।१९।।

चम्पा चम्पकरी, अशोक मनको अत्यन्त शोकावह
पापी आँपहरु, गुराँस, बिरसी, जाई, जुई, दु:सह ।
भाला झैं नवमालिका, बकुलले पारीशक्यो व्याकुल
यो दु:खी मनलाइ शान्त गरने देखिस यौटै फुल ।।२०।।

गालामा गिरदो छ यो छिन छिनै शोण-प्रभा शोभन
कालिन्दी जलका विशाल भलको मूलै भये लोचन ।
धाराकार सरस्वती वदनमा, आफैं म छू नर्मदा
छातीमा बढदो छ तैपनि हरे ! सन्ताप यो सर्वदा ।।२१।।

सन्तापानलको भयङ्कर धुवाँ जस्तो धुलो पुष्पको
हाली लोचनमा छिपेर वनम चाला लिई दुष्टको ।
लागेको छ समीर देहभरमा अत्यन्त सोला दिन
कस्ती हा ! म अभागिनी अझ पनी जाँदैन चोला किन ? ।।२२।।

यो एकान्त-विहार, यो चहकिले शृङ्गार, यो चाँदनी
यो शय्या फुलको, लताभवन यो, यस्तो प्रिया कामिनी ।
यो मौका, वय यो, महाप्रणय यो, स्वर्गीय यो कौतुक
यो सम्पूर्ण कुरा चटक्क भुलने धक्कार नालायक ।।२३।।



(*सूक्तिसिन्धु (फेरि), जगदम्बा प्रकाशन, २०२४)