कुतीमा यौटा पीपल ठूलो / मुना मदन / लक्ष्मीप्रसाद देवकोटा
कुतीमा यौटा पीपल ठूलो हावाले हल्लायो,
हाँगामा आई कागले चुच्चो खोलेर करायो,
छहारी बस्ने बटुवा हेर्थे टाढाको टाकुरा,
चिउँडो थियो हातको माथि, घुँडामा पाखुरा।
हाँगाको काग ओह्र्लेर आयो, नजीकै करायो,
नजर छड्के त्यो घाँटी कर्के गरेर करायो।
नजर फिर्योत, पसीना पुछी बोले ती बटुवा,
‘सुबोल् सुबोल् हे! ठाउँ सरी बस्न, आकाश-डुलुवा!
हेरेर आइसु ती आँखा तानी के मे शहर?
नेपाल खाल्डो छ कान्तिपुरमा घर त्यो सुग्घर।
माई छन् मेरी कपाल सेती, मुना छन् उज्याली,
मलाई सन्चो छ भनी आइज पखेटा उचाली।
‘नमान्नू धन्दा नमान्नू फिक्री’ भनेर सुनाई,
गुँडमा फर्केस् बारीको यौटा हलुवावेद खाई!’
उडेर गयो त्यो काग टाढा बुझे झैँ गरेर,
‘कागले बुझयो, उडेर गयो पुग्नेछ सबेर।
बुझदैनन् भाषा पन्छीको हाय! ती दुई बिचरा!’
भनेर हेरी नजर भरी उठे ती बिचरा!
बिचरा मदन, नजर भरेर!