भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

कुरूप समय / उषा शेरचन

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

बिन्ती, नदेखाऊ भो
हेर्न सक्तिनँ म
यस्ता हृदयविदारक तस्वीरहरू
जसले आमाको कोमल हृदयलाई
पगाल्छ मात्रै
बिन्ती नसुनाऊ भो
सुन्न सक्तिनँ म
यस्ता मानवताहीन खबरहरू
जसले आमाकोे कोमल हृदयलाई
चुँडाल्छ मात्रै
रगत र मासुले नभई
ढुङ्गा र माटोले बनेको
ओ ! नरभक्षीहरु
सोच र विवेकले नभई
फलामले बनेको
ओ ! संवेदनहीन रोबर्टहरू
नबर्षाउ त्यसरी आगोका बर्षाहरू
निर्दोष कोपिलाहरु माथि
नझार त्यसरी बमका गोलाहरू
कलिला फूलहरु माथि
कलिला फूलका घाँटी निमोठ्दै हिँड्ने
ओ ! पागलहरू
कति लिन्छौँ यसरी मातृत्वको परीक्षा ?
आमाका कोखहरुका खिल्ली उडाउने
ओ ! दानवहरू
कति घोट्छौ यसरी मानवताको गला ?
आमा हुनुको अनन्त
पीडा पनि कति खप्नु अब ?
मानव हुनुको असीमित
लज्जाबोध पनि कति गर्नु अब ?
बरु आमा हुनै अस्वीकार गर्छु म
यो घिनलाग्दो समयमा
बरु सन्तान जन्माउनै अस्वीकार गर्छु म
यो निष्ठुरी समयमा
अनि नारीविनाको यो संसारमा
चाहे राज गर वा राजनीति
चाहे सत्ता खोस वा सीमाना
ओ ! कुरुप समय
सक्छौ भने
या त बन्द गर हिंसाका
यस्ता क्रूर गतिविधिहरू
ओ ! कुरुप समय
सक्छौ भने
समाप्त पार शक्तिका
यस्ता नृशंस खेलहरू
यदि
सक्तैनौ भने
कि त बन्द गरिदेउ
आमाका धड्कनहरू
वा
सिलाई देऊ
आमाका पाठेघरहरू !
सिलाई देऊ
आमाका पाठेघरहरू !!