Last modified on 26 मई 2017, at 12:40

कुल वंश / विष्णु न्यौपाने


(एक टुक्रा)
आस्था बान्धवको उनेर ममता श्रद्धेय संस्कारको ।
लेखौं सृष्टि खिचेर आज कुलको वंशावली शानको ।।
फैलाऊँ उनका कला जगतमा विश्वासिला वैभव ।
बाँच्ला नाम सदा सदा अमरभै सम्मानमा आखिर ।।
(१)
आफ्ना पूर्वजको अपूर्व फलको सानन्द सम्मानको ।
विज्ञानी जनको पवित्र मनको संकल्प वा भावको ।।
राखौं ग्रन्थ कुँदेर व्यापक कुनै ब्रम्हाण्डको आखिर ।
हाँके हुन् कसरी अनन्त युग ती के मानका खातिर ?
(२)
आस्थामा कुल धर्म हो मनुजको संस्कारको सार हो ।
पुर्खाको फल धर्म हो विजय वा सद्भावना प्यार हो ।।
लाखौं लाख अतृप्त सृष्टिहरूको संयुक्त आलोकमा ।
हामी आज पवित्र चुस्त धरणी भोगीरहेछौं यहाँ ।।
(३)
जस्ले मिच्तछ सृष्टिको चहकिलो संस्कार संवेदना ।
त्यस्को विध्न अवश्य पर्छ कुलमा दुर्भाव सन्तानमा ।।
हे प्यारा प्रिय बन्धुका रचयिता हे रक्तका हे लता ।
लाखौं कष्ट सहेर नै पनि अहो राखौं कुलात्मा सफा ।।
(४)
न्यौपाने कुल वंशको गहकिलो लेखौं कि वंशावली ।
शाखा सन्तति बन्धु वा अझ सके जोडेर कि मावली ।।
छोरा मात्र सुझेर हुन्न अहिले छोरी र ज्वाइँ थर ।
सक्थ्यौं लेख्न भने विवाह विधिमा बिग्रन्न हाम्रो घर ।।
(५)
जान्दैनौं जब भेट हुन्छ अपितु सम्बन्ध के लाग्दछ ।
काका बाबु भनौं कि दाजु हजुरी कौतुल्य नै जाग्दछ ।।
छोरा भन्दछु साइनो छ जिजुको के सुन्नु के जान्नु म ।
झूठो मान खिचेर पाप बटुली आदर्श के चुन्नु म ।।
(६)
गाह्रो नै छ तथापि आस बटुली खोजेर सन्तानको ।
जोड्दै जाउँ समाइ मूल अथवा हाँगा जरा पातको ।।
हाम्रो यो कुल गोत्रमा उभिइने कौडिन्यका सन्तति ।
एकै सूत्र बनाइ बाँधिन सके त्यो हुन्छ सच्चा कृति ।।
(७)
हाम्रो थात थलो थियो कुन धुरी पूर्खा थिए हुन् कति ।
ल्याए हाँक दिएर साथ बटुली संसार त्यागे कति ।।
नेपाली पनमा सबैसित घुले चारै दिशा टाँगिए ।
हिन्दुस्तान हुँदै समग्र दुनियाँ संसारमै झाँगिए ।।
(८)
पायौं एक पवित्र पुस्तक कुनै नेपालका वंशमा ।
पूर्खाको फल प्राप्त भो र उनका पुग्यौं सबै अंशमा ।।
बाँस्पानी भनिने कछाड जनिने जित्पूर फेदी महाँ ।
न्यौपाने जन बस्तथे कुल धनी श्री कृष्णबाजे त्यहाँ ।।
(९)
लेग्वा घाट तरेर ब्राम्हण कुनै आए त्यहाँ एकल ।
कृष्णानन्द थियो र नाम तिनको बस्ता भए बेगल ।।
अध्बैंसे जन हुन् तथापि उनका थ्येनन् कुनै साथमा ।
केही वर्ष नभै विवाह विधिले जोडी चुने गाथमा ।।
(१०)