भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

कृपया दलालले कष्ट नगर्नुहोला / प्रोल्लास सिन्धुलीय

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

माथि
पहाडमा उभिएर सोच्दा
गहिराइ धमिलो देखिन्छ
दिक्कलाग्दा देखिन्छन् झुप्राहरू
पिँढीको सुकुल र भुटेको मकै त
फुटेको आँखाले पनि देखिँदैन
त्यही
माथिबाट नदेखिने गाउँको
कुनै कुनाको
एक टुक्रा जग्गा बिक्रीमा छ अचेल
कृपया दलालले कष्ट नगर्नुहोला ।

माथि
पहाडमा उभिएर सोच्दा
अझ ठूलो पहाड देखिन्छ
चम्किलो हिमाल देखिन्छ
उदाउँदो सूर्यको चहक देखिन्छ
खुला क्षितिज देखिन्छ
दुःख बिर्साउने सपना
आकाश छुने सपना
पूरा हुँदै गरेको पनि देखिन्छ
यो अचम्मको पसिना
पहाडमा पुगेपछि चिसो हुन्छ
पहाडमा
निद्रा पनि असाध्यै मीठो लाग्छ
कैयौँ अनिदा रातहरूको साक्षी
अँध्यारो बुइकलसहितको एउटा घर
बिक्रीमा छ अचेल
कृपया दलालले कष्ट नगर्नुहोला ।

माथि
पहाडमा उभिएर सोच्दा
विगत धमिलो देखिन्छ
त्यो कहालीलाग्दो कष्टकर यात्रा
बिर्सने अभिप्रेरणा जाग्छ
माथि पहाडमा पुगेपछि सोच्न पनि मन लाग्दैन
रुने कारणहरू फितला हुन्छन्
आक्रोशित हुने विषयहरू फिका हुन्छन्
जहाँ लुक्दालुक्दै
लाखौँ तोकिएका टाउकाका मूल्यहरू
करोडौँका भएका छन्
त्यही महान् यात्राको एउटा सेल्टर
बिक्रीमा छ अचेल
कृपया दलालले कष्ट नगर्नुहोला ।