भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

केही मन छैन / ईश्वरवल्लभ

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

त्यो बेहानको उज्यालोले कहीँ दाग छोडेको छ
कहीँ आकाशनिर नीलो आवाज छोडेको छ,

झङ्कृत तुल्याएर पूरा परिवेशहरूलाई ताराहरू जस्तै
म आउनेछु भन्दै पहेँला फूलहरू टेक्तै, सुम्सुम्याउँदै
छाम्दै उकालो ओरालोहरूलाई ।

उसका बलेँसीका रङ्गजस्ता अनुभूतिलाई,
तिमीले केही पनि भनिदिएनौ भन्ने उसलाई पीर हुनु
स्वाभाविक छ,
ऊ गाईजात्राको मुखुण्डो हो
पूरा चादर सडकमा लतारेर हिँडिरहेछ
र हरेक डबलीमा नाच्ने देवतालाई
ऊ चिन्न खोछ ।

ऊ जात्राहरूमा आफ्ना सबै परिवारसित जान खोज्छ,
बूढो रूखले प्रतिज्ञा गरेजस्तै
उसले गरेका प्रतिक्षाहरू जताततै अल्झिएर बस्छन्
सबै प्रतिक्षाहरूलाई समेटेर जम्मा गर्न खोज्न चाहने उसको इच्छा
अद्भुत छ ।

बाङ्गा टिङ्गा रङ्गका रेखाहरू जस्तै हुँदा रहेछन्
उसले हेरेका बैँसहरू,
आफ्नै जस्तो पनि लाग्ने कतिले टाढाको इच्छा जस्तो,
कल्पना, सानो माउसुलीले भाग्न चाहिरहेको
परका कालो ओडारसम्म,
लुक्नलाई नदेखिने गरी कसैको आँखामा
भिज्नलाई नसुक्ने गरी कसैको बैँसमा,
उसले हिँडिरहेका यात्रालाई बाटोमा नटेक्नू भन्ने आज्ञा !

जान दिनपर्छ नफर्किउन्जेल भनेको यस्तै हो
सयपत्रीको फूल फुलेको जस्तो दशैँ र तिहारमा,
र सायद त्यसैले मलाई उसलाई जस्तो कहीँ जान मन छैन
र उसलाई जस्तो तिमीकहाँ आउन पनि मन छैन ।