तिमीलाई सम्झिँदै
मैले एउटा शून्य बाँचेको छु ।
जीवन बाँची हेर्न
तिमीलाई सम्झिहेरेको छु ।
रहरले वा करले हैन
स्मृतिले हो यो,
साथको 
एकै आवाजको
एकै निश्वासको
एकै अनूभूति र
एकै उच्छ्वासको ।
सुवासित छन् मेरा सुस्केराहरू
तिम्रो श्वासको सुगन्ध बोकेर,
मधुर छन् मेरा ओठहरू
तिम्रो नामको मीठास बोकेर, 
टल्किरहेछन् मेरा आँखा
तिम्रा आँसुको व्यथा सँगालेर ।
कठीन छ 
तिमी विस्मृत हुन
मेरा रहरहरूबाट
मेरा घाउहरूबाट
मेरा आँसुहरूबाट ।
थुप्रै महरू साटेको छु 
मैले तिमीसँग
एउटा तिमी पाउनलाई ।
हरेक नयाँ पलहरूमा
छरेको छु आँशु, गीत र 
कविता
स्मृतिले भरेर ।
अँगालेको छु
हृदयभरि
मुटुभरि
छातीभरि 
आफूभरि र
रित्तो अँगालो र सपनाभरि
तिमीलाई ।
अनि बाँचेकोछु
रिक्तताभरि
एउटा शून्यजस्तो जीवन
अर्थहीन जीवन 
केके न, भएजस्तो लाग्ने 
तर केही नहुने
भाषणजस्तो जीवन ।