भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

के थियो ? / भीमनिधि तिवारी

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

                                      १
झमक्क साँझ परेको थियो । धमिलो प्रकाश सर्वत्र छाएको थियो ।
छिन-छिनमा सिररर सिररर चिसो स्याँठ चलेको थियो । शुक्रतारा
अस्ताचलमा-पुगेको थियो । टाढाटाढा, बत्तीको धधपिएको ज्वाला
देखिएको थियो । के थियो? शायद कुनै बालकको क्रन्दन थियो ।
                                     २
गोरेटो थियो । मेरो लक्ष्य त्यहीं जाने थियो । साथी केवल कल्पना
र कलम थियो । अलिपर कुलकुल कुलकुल कुलो बहेको थियो ।
त्यसैको नजीक भत्केको छाप्रो थियो । चारैतिर चकमन्न थियो ।
के थियो ? एउटा बिचरो बालक टाढा हेरेर चिच्याइरहेको थियो !
                                     ३
कति पटक सोद्धा बल्ल जवाफ दिएको थियो । दुइ महीनाअघि
उसकी आमाको मृत्यु भएको थियो ! उसको बाबु बिहानै पठुवा
चुटन गएको थियो । उ, घर कुर्न बसेको थियो । त्यस बेलासम्म
नआएको थियो । के थियो? बालकको मनमा भय, वास, आतंक थियो!
                                     ४
कपाल जिंग्रिंग पालेको थियो । न टोपी, आँगमा झुत्रो लबेदा थियो ।
न त तना थियो । छाती र पेट खुला थियो । कप्लक्क गाला, किर्लिङ्ग
करङ थियो । आँसुको आवैच्छिन्न धारा बहिरहेको थियो । के थियो ?
किसानको मातृहीन बालकको हृदय-विदारक चित्र थियो ! ! !

............................
साहित्यस्रोत, १|८-९, मार्ग-पौष २००४