के हुँ म तिम्रा लागि ? / निर्मला पुतुल / सुमन पोखरेल
के हुँ म तिम्रा लागि ?
एउटा सिरानी,
कतैबाट थकित भएर आयो
र जसमा टाउको बिसादियो
कुनै काँटी,
निरसता, उदासी र थकानले भरिएको
कमेज फुकाल्यो र जसमा झुन्ड्याइदियो,
या आँगनमा टाँगिएको डोरी
जसलाई घरभरीका लुगा बटुलेर बोकाइदियो
कुनै घर,
जहाँबाट बिहान निस्कियो र
साँझमा फर्कियो
कुनै डायरी,
जसमा जहिले मन लाग्यो तहिले
केके जाति लेखिदियो
मौन उभिएको भित्तो,
जसमा जतिखेर जहाँ मन लाग्यो
काँटी ठोकिदियो
कुनै भकुन्डो,
जसलाई बेला कुबेला
हुत्याइ-समाइ खेलिदियो
या कुनै ओढ्ने-ओच्छयाउने,
जसलाई जहिलेतहिले जहाँतहाँ जथाभावी
ओढिदियो, ओच्छ्याइदियो
किन नबोलेको ?
भन न, के हुँ म
तिम्रा लागि ??
......................................................................
इस कविता का मूल हिन्दी पढ़ने के लिए यहाँ क्लिक करें ।