खै मान्यता यहाँ आत्माहुतिको – बलिदानको ? / हरिभक्त कटुवाल
[ १९६२ सन्को चीन-भारत युद्धमा मर्ने गोर्खाली सैनिकहरुको नाउँमा ]
हामी जो कुनै दिन विदेशियौँ र आज पनि विदेशीमै
दरिएका छौँ
हाम्रा विवश छाती जम-जमाउँछन् - मर्माहत छौँ हामी,
किनभने
यहाँ ढुङ्गाका काप-कापमा रुन्छन् हाम्रै आफन्तका
अतृप्त आत्माहरु !
खै मान्यता यहाँ आत्माहुतिको - बलिदानको ?
प्राणको बाजी थपिदिएरै पनि हामी साख हुन सकेनौँ
कहिले कसैको !
धिक्कार छ हाम्रा ती पुर्खालाई जसले
लावारिश छोडिदिए भुस्याहा कुकुर जस्तै हामीलाई
केवल दाँत ङिच्याइदिन अरुको भुकाइमा-थुकाइमा !
यसरी भूलै-भूलको इतिहास बनेर अझै कति दिन जिउनु ?
के गर्नु - भी.सी. पीर-परमपीर चक्रहरु ?
बरु, खर्पन राम्रो, डोको राम्रो, कोदालो राम्रो,
खाँडी राम्रो, राडी राम्रो, सुकुल राम्रो,
हकुवा, गुन्द्रुक र ढिँडो राम्रो
आफ्नै पाखा-पर्खा र हिमाल राम्रो ।
धेरै कुरिदियौँ अरुको घर दर्बान भएर - जवान भएर
धेरै थापिदियौ छाती अरुका लागि सोझो भएर - बेसुर भएर
लौ, अब एकैपल्ट उफ्रिदिऊँ सबै बन्धन चुँडाउने गरी
र किरिया खाॐ हात चोबलेर पवित्र पानीमा वागमतीको
प्रतिमा गरौँ मुट्ठीभरि माटो लिएर पावन मातृभूमिको
कि, दोहोराउने छैन कसैले भूलको इतिहास फेरि
कि, बिर्सने छैन कसैले निजस्वको अभिमान फेरि ।