भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

खोइ मालती ! तिम्रो तिलहरी खोइ ? / रमेश क्षितिज

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

धेरैबेर – यो शिताम्मे चिसो साँझमा
ल्याम्पपोस्टको धमिलो प्रकाशमुन्तिर
उभिएर एक्लै
कुन्नि मैले केके सोचिरहेँ,

केही निर्वाह गर्न नसकेका दायित्वहरू
केही अधुरा कामहरू
र गन्तव्यअगावै भत्केको बाटो सम्झिँदै,

सडक किनारमा चल्मलाइरहेका
ती धुमिल प्रच्छायाहरूले स्पर्श गरिरहे मलाई
पातलाई बतासले जस्तो
किचकन्नी रातको मौनतालाई चिरेर
गुन्गुन–गुन्गुन मान्छेहरूको आवाज
एकतमासले निरन्तर बगिरह्यो अँध्यारोमा,

मेरै सामुन्नेबाट
केही बगरेहरू – मान्छेको मासुका करारवालाहरू
खित्का छोडेर हिँडिरहे,
आमाको ओखती किन्नका खातिर
बेदाग नैनसुतजस्तो बैंस बोकेकी युवती
दागै–दागको घिनलाग्दो तन्ना बनेर
फर्की यहीँबाट
उमंगहीन पाइलाका आवाजहरू सुनिरहेँ
स¥याक–स¥याक,

विषाक्त समयको कोर्राले हिर्काएका
र बेइमान परिवेशको धनुर्काडले रोपेका
आफूजस्ता अरू धेरै मान्छेको
छातीभरि – पिठ्युँभरिका निलडामहरूलाई मैले
यो रातको जिउँदो साक्षी भएर भोगेँ,

सधैंजसोको विश्वासघाती दिनलाई
साँझपख – सलाम गरेर फर्किंदा
मैलो आकाश हेरेँ, कालो सूर्य हेरेँ
व्यस्त सडकमा
आफूलाई मान्छे भन्न मन पराउने
कुँदिरहेका अनगिन्ती लास हेरेँ,

सडकको पेटीमा उभिएर
छामेँ ती फुङ्ग अनुहार उडेका विषकन्याका
सुम्लाहरूलाई
नांगै–नांगै नहिँडे हुन्थ्यो भनेँ  !
 
सहर हेर्न आएको निरीह गाउँलेको टोपी
सिट्कनीले उडाएर रमाइरहे
केही आयातीत सभ्यताहरू
डरलाग्दो अट्टहास गरिरह्यो त्यसैबेला
सिमाना नाघेर आएको तातो हावाले,

सल्याङ–बल्याङ सल्बलाइरहेको
बागबजारको सडक भएर – शुक्रबार भोगेँ मैले,

कतै ओठसँगसँगै हुर्किरहेको कलेटी थियो
कतै आँखासँगै बढिरहेको मोतिविन्दु थियो
शोकगीत थियो अनौठो
मान्छेले आफ्नै ताजा मृत्युमा गाइरहेको
मानव सभ्यताको पराजयमा
मान्छेहरू नै विजयोत्सव मनाइरहेथे

बाँच्नेहरू – समवेदनाको साटो
एकअर्काको सम्भावित मृत्युका लागि
बधाई साट्दै थिए,

आफ्नैहरूको छातीमा भाला रोपेर
धमिला छायाहरूले खुसी मनाइरहेको बेला
गिलास जुधाइरहेको बेला
दीपावली गरिरहेको र पटका पड्काइरहेको बेला
एउटा जुलुस
असंख्य काला पताकाहरू हल्लाएर गयो
                नैतिकताको विरुद्धमा  !
                आदर्शको विरुद्धमा  !!
                प्रकृतिको विरुद्धमा !
                मान्छेको विरुद्धमा !!
                न्यायको विरुद्धमा !
                शान्तिको विरुद्धमा !!

र तर्सिएर हिँडेँ म
तर जताततै छरिएका दानाहरू देख्छु
च्यातिएका कपडा र चौबन्दीका टुक्राहरू देख्छु
अनि एकतमासले टोलाइरह्यौ तिमी,

खोइ मालती  ! तिम्रो तिलहरी खोइ  ?