भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

गाउँको एउटा कविता / निमेष निखिल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


बेलीचमेलीका बोटमा ढकमक्क फुल्छन् सपना
अन्नका बालाबालामा सैसैला खेल्छन् जीवनका ताँती
सान्नानीका बैँसालु रहरले रन्कन्छन् पाखापखेरा
बेसीतिर खोलासँगै गाउँछन् साहिँलीहरू आशाका गीत
र मग्मगाइरहन्छ गाउँमा―
जीवनको एउटा रहरिलो सुगन्ध।
 
केही ससाना सपना छन् मान्छेका
जुठेल्नाछेउ आफै उमि्रएर फुलेको लालुपातेजस्तै रङगीन
रहरहरूलाई शिखर टेकाउने ध्याउन्न छ
केही मसिना खुसी आँगनछेउको गोदावरीसँगै
उमि्रन्छन्, हुर्किन्छन् र फुल्छन् झपक्क
आमा दिदी भाउजूको जमात
इच्छाको घोषणापत्र जारी गर्छ ढिकीजाँतोमा
उत्ताउला सोखहरू
कहिल्यै तर्न सक्दैनन् गाउँपुछारको खोला
विसङगतिको बतास छिचोल्नै सक्दैन
गाउँ―सिमानाको आकारहीन पर्खाल
तृष्णा र अतृप्तिका झुन्ड आउँछन्
र फकिर्न्छन् गाउँको बाटैबाट
र सुकिलो समय च्यापेर गाउँ हाँसिरहन्छ―
सरलताको एउटा स्निग्ध मुस्कान।
 
एउटा रातो रोटी पूर्वी क्षितिजमा टाँगिएसँगै
चल्मलाउँछ गाउँ कर्तव्यको बडेमान ढाकर बोकेर
पहेँला किरणले गोधूलिमा लुकामारी खेलिसक्दा पनि
फुर्सद चाहिँदैन गाउँलाई
कि खुर्पे जूनलाई थाहा छ कि हर्के हजुरबालाई थाहा छ―
दिन र रातका आलस्यहरू च्यात्दै
कसरी अविराम हिँड्दै आएको छ गाउँ अनादिदेखि―
र गुन्गुनाउँदै आएको छ एउटा अनन्त गीत―
सृष्टि र सिर्जनाका नाममा
शान्ति, सद्भाव र मान्छेहरूका नाममा।