भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
लोक संगीत
कविता कोश विशेष क्यों है?
कविता कोश परिवार

गाउँ र सहर / रावत

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


गाउँमा घाम
करेसाबारीको शिरबाट उदाउँछ
सहरमा घाम
पक्की भवनको शिरमा टाँगिएको
पेटिकोट वा कछाड मुनिबाट उदाउँछ
यत्ति फरक छ! गाउँ र सहरको बिहानीमा ।
गाउँ दिनभरि-
मुटुजस्ता पातहरूको
हरियो झण्डा फर्फराउँदै दायाँबायाँ
निर्बाध हिँड्छ/दौडन्छ
पाखा-पर्वतको कानकानमा
सुसुल्दै प्रीतको गीत,
सहर दिनभरि
जितको गीत गाउन भनी
मान्छे खाने मान्छेहरूको
सास, डकार र काखीको गन्ध छाड्दै
कहिले, ट्राफिकको सेतो हत्केला मुनि
सेतै हिउँ भएर जम्छ
कहिले, प्रेमीप्रेमिकाको र्‍याल गन्हाउने
बेरोजगारीको आँसु बिझाउने
चौबाटोमा खसेको
रुमालभन्दा पनि मैलो पार्कमा बसेर
लुते कुकुरझैँ
आफूले आफैँलाई चाट्छ/कन्याउँछ ।
वा, कुनै सरकारी कार्यालयको
प्राङ्गण नै फुटाएर निस्किने
लामबद्ध भुसुना नागरिकहरूको पुछारमा बसेर
मोटे हाकिमको
गहु्रङ्गो पदचाप कुरिरहेको हुन्छ
वा, मुखमै चर्पी गन्हाउने
कुनै नेताको भाषणमा
मरुन्जेल ताली पिटिरहेको हुन्छ
साँच्चै भनूँ भने, गाउँ दिनभरि
जीउमा झिर रोपिरहेको हुन्छ
यत्ति फरक छ,
गाउँ र सहरको दिनचर्यामा ।
जब घाम अस्ताउँछ गाउँमा
तब झ्याउँकीरीले सुताउँछ गाउँलाई
जुनकीरीले सजाउँछ सपनाको आकाश
रात, दौडिन्छ सुरक्षाको गस्तीमा
र, सुरक्षित पुर्‍याउँछ गाउँलाई बिहानीसम्म ।
तर जब
घाम अस्ताउँछ सहरमा-
तब खुल्न थाल्छन् मूलगेटहरू
अँध्यारोको मुटुमा झुन्ड्याइन्छ 'स्वागतम्'को तुल
हातहातमा बोकेर 'स्ट्रिट-लाइट'
दौडिन्छ सडक-बधशालाको ढोकासम्म
'बार्गेनिङ' बोकेर हावाहरू
पुग्छन्, बैठक कोठादेखि बैठक कोठासम्म
गोप्याङ्गको मयल
र, भर्खर घाँटी नापेको
खुकुरीको रगत पखालेर बग्छ नदी
नदीतटमा झोक्राइरहेका ईश्वरहरू
त्यही पानीमा हेर्छन् मुहार
र, खोज्छन् आफ्नो अस्तित्व
सहर,
जसले रातारात जन्माउँछ-वेश्या जूनहरू
र, बाध्य बनाउँछ
चामलसँग साट्न-छालाको 'लिपिस्टिक'
सहर,
जसले रातारात जन्माउँछ पातकी छोराहरू
जो र्‍यालले लिप्छन् सहरलाई
र, फैलाउँछन् दुर्गन्धको एक साम्राज्य
सहर,
जो हरेक रात
एउटी कुमारी छोरी
र, एउटा असल छोरोको मृत्युमा
उत्सव मनाइरहेको हुन्छ ।