भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
लोक संगीत
कविता कोश विशेष क्यों है?
कविता कोश परिवार

चर्चको साँझ / खुमनारायण पौडेल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

डेन्युबका किनाराहरूमा आशाहरू
पुलबाट आत्महत्या गर्छन्
मान्छेहरू धमिलो पानीमा
आफ्नो अनुहारको नियति हेर्छन्
कि नीलो आकाशमा निरुद्देश्य दगुरिरहेका
बादलका आकृतिहरूमा डुब्छन्
वसन्तमा अबेला आइपुग्ने भियनाको साँझ
बाथले कक्रिएर चर्चको पार्कमा
आफ्नो दाह्री सुमसुम्याउने गर्छ।

क्षण–क्षणमा चर्चका गजुरहरू उडाउने बतासले
मृत्यु कुर्दै गरेका दम्पतीहरूको
मुटु हल्लाएर जान्छ
वृद्धाश्रमको मैलो पर्दा
उदास–उदास हल्लिइरहन्छ ।

वृद्धाश्रमको मैलो पर्दाबाट
उदास अनुहारहरू बिरालो सुमसुम्याउँछन्
गमलाका फूलहरू ओइलाउँछन्
उनीहरूलाई थाहा छ
पार्कमा खेल्दै गरेका नानीहरू
कसैका पनि होइनन्
एकछिन आफ्ना भएका जस्ता मात्रै हुन्
पखेटा उम्रिएपछि उनीहरू
जानेछन् अर्को क्षितिजमा
र प्रत्येक वर्ष क्रिसमसमा मात्र भेटिनेछन्
मात्र बूढो हातले
उनीहरूको आँसु पुछिरहन्छ
वृद्धाश्रमको मैलो पर्दा
उदास–उदास हल्लिइरहन्छ ।
ओइलाउँदै गरेका फूलहरूमा
केही रङ नथपिए पनि
केही सुगन्ध नथपिए पनि
कुहिन छाड्दैनन् जराहरू
भित्र–भित्रसम्म वर्तमानले
असहमति देखाइरहन्छ
चर्चबाट आइरहने
घण्टीको नीरस स्वरले पनि
सम्मोहन जन्माउन खोज्छ जीवनको
प्रत्येक हिउँदको कठोर हिमपातले
सबै सम्मोहन मक्किएर जान्छ
जिन्दगी विगतको अलबममा अल्झिरहन्छ
वृद्धाश्रमको मैलो पर्दा
उदास–उदास हल्लिइरहन्छ ।