चोट भरूँ म पहिले / सुमन पोखरेल
यसकै वेदनामा केही दुखूँ म पहिले
अरू लेख्दै गरुँला प्रेम लेखूँ म पहिले
सुनूँ केही तिम्रा कुरा, अनि म बोलूँला
केही नबुझी कसरी पो बोलूँ म पहिले
चाहना छ प्रवल, आकाशमाथि पुग्ने तर
गरूँ केही अनुभव, थोरै बगूँ म पहिले
भत्केको मनमा कसरी राखूँ म तिमीलाई
पर्खपर्ख, यो मुटु मेरो जोडूँ म पहिले
सिँगारूँला तिमीलाई मायाका रङ्गले
पिरतीको चित्रकारी सिकूँ म पहिले
आउनेछु लिन तिमीलाई, केहीबेर पर्ख
तिम्रा लागि केही खुशी खोजूँ म पहिले
भिजाउँला म तिम्रो हृदयलाई खुशीले
तिम्रा मनका रहरलाई बुझूँ म पहिले
भेट हुँदा के गर्नु हो, केही थाह छैन
हाम्रो भेटको कल्पनामा डुबूँ म पहिले
रात बाँकी नै छ, छ जीवन पूरै बाँकी
एकछिन त घुम्टोभित्रै हेरूँ म पहिले
बोक्ने छु म तँलाई, नडरा ए जिन्दगी
दुईचार पाइला दह्रा टेकूँ म पहिले
आलैकाँचै गयो भने, दु:ख होला उता
शीत-ताप जिन्दगी कै, सहूँ म पहिले
रहरैले मात्र के लेखिएला र सुमन !
यो छातीमा केही चोट भरूँ म पहिले