छुँदैन कुनै जहरले मलाई / सुमन पोखरेल
नछोऊ औँलाहरूले, नछोऊ तिम्रा अधरले मलाई
पहिल्यै घायल पार्या छन्, तिम्रा ती नजरले मलाई
हृदयमा केके, केके, केके, केके भइरहँदोरहेछ
अनेक अनुभव गरायो, प्रेमको सफरले मलाई
तिमी यता आउने हौ कि, मै आऊँ उडेर त्यता
अतिनै छटपट गरायो भेट्ने रहरले मलाई
कल्पनामै भए पनि भेटिरहूँझैँ लाग्छ तर
रोकिदिन्छ तिम्रो फुर्सत नहुने डरले मलाई
दिनरात निदाइरहूँ लागेर आयो आज मनमा
सपनामा तिमी आउनेछ्यौ भन्ने खबरले मलाई
यो नदीको किनारमा साथै कति हिँडिएछ
तिम्रो खबर सोधिरहन्छ सधैँ बगरले मलाई
यसो गरूँ, उसो गरूँ, त्यसो गरूँ भन्ने थियो
केही गर्नै दिएन मनको समरले मलाई
जहिलै चिन्छ आफ्नोले, जस्तोसुकै हाल होस्
जुनैबेला पुग्दा सोध्दैन को होस् घरले मलाई
कसले मार्न सक्छ मलाई, अनुभव छ जीवनको
पिएर बिष बाँच्या छु, छुँदैन कुनै जहरले मलाई
हाँस्या छ मेरो खुसीले, म दुखे दुख्छ ऊ पनि
सोध् सुमन ! के ठान्या रैछ, यो शहरले मलाई