भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

जङ्गल र मान्छेहरू / मौन आवाज

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

घाम डुब्नु र चुहिनु पातमा -
तप्प !

एकथोपा आँशु
यो कुनै ठूलो घटना होइन ।

विचारको जङ्गलमा जे जति हराएको छ
त्यो हावाले टिपेर लगेको छ ।

विधवा आइमाई माइती जाँदै गरेको बेला
जुन बाटोले छेक्यो उनको पाईताला
र उनको आँखामा जसले छ्याप्यो तुवाँलो
अहिले त्यो मौन छ ।

स्कुले विद्यार्थी किताब च्यापेर
जुन बाटो हिँड्यो
र फर्केर आएन
त्यो बाटो अहिले मौन छ ।

जसरी मौन छ यो राष्ट्रको सरकार
जसरी मौन छ हत्यारा
र जसरी मौन छ अघाएका मान्छेहरू !

पानी पर्नु -
र पातमा ठोक्किएर चक्नाचुर हुनु सपना
यो कुनै ठूलो दुर्घटना होइन ।

समयले उठाउँदै लगेको मुचुल्कामा
दस्तखत गर्न एकसे एक मुर्दाहरू जीवित छन्  !

लासहरूमाथि उभिएको उन्मत्त सत्ता -
निरिहहरूको काँधमा चढेर फर्मान जारी गरिरहेको छ -
अबदेखि
खुट्टा नबोक्नु यात्रामा खतरा छ !

मस्तिष्क नबोक्नु टाउकोमा
छलफलमा भाग नलिनू खतरा छ
खतरा छ केहि सोच्नू !

न्याय नखोज्नू खतरा छ !

माछा हुनू
र हाजिर हुनू टेबुलमा ।

बरु - उफ्रनू भ्यागुतो
र कुवामा खस्नू ।

नलगाउनू कालो वस्त्र
बरु - नांगो हुनू ।

बरु - गएर कतै समाप्त हुनू
देखा नपर्नू यो भूगोलको वरपर ।

खाली पेट
सबैभन्दा खतरनाक हुन्छ निरंकुश व्यवस्थामा ।

जसरी चुहिनु
तप्प !

अभावको छानोबाट उत्तेजना
र हिँड्नु विरोधमा लस्कर ।

विचारको जङ्गलमा आगो लाग्नु र
ठिक दिशातिर हावा नचल्नु
- मौन बस्नु चिरा परेको धर्ती !

आमाहरूको अस्मिता डाँकुहरूले लुट्नु
दलालहरूले खरिद गर्नु मान्छेहरूको आवाज
र चुपचाप गएर बस्नु सबै चेतना जङ्गलमा !

मलाई शङ्का लागेको छ
मेरो देशबाटै मेरो देश अपहरणमा परेको छ ।

अब
गएर जङ्गलमा मान्छे खोज्नु छ
मुक्त गर्नुछ -
जङ्गलबाट मान्छेको विचार !

र मुक्त गर्नुछ -
मौनताको कठघराबाट सम्पूर्ण कैदीहरूलाई  !


०००