भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

जलिरहेकी धरती / टी.सी. पूर्णिमा / सुमन पोखरेल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

हे दिदी, धरतीपुत्री!
कुनै बेलाका
कमलका फूलका पत्रझै नरम गुलाबी
हजुरका गोडा
चर्चर फुटेका छन् अहिले ।

केले फुटाए त्यसरी?
के हजुर हिँड्ने बाटामा छरिएका
ढुङ्गा र काँढाहरूले हो ?

चौध वर्ष लामो
कष्टदायक पीडा
मडारिइरह्यो हजुरभित्र ।

मल्हम लगाउँदा हुन्थ्यो कि ?
हजुरका गोडा यता दिनुहोस् दिदी,
मालिस गर्दा आराम हुनेछ ।

नरुनुस्
सहनुस्
भ्रमको सुन्दरता नै त्यही हो
झिल्काका चमकले ध्यान तानेजस्तो ।

रावणका किंवदन्ती छन्
जसले हजुरलाई हरण गर्‌यो
तर त्यही हुनु नै सबै थोक सकिइजानु हैन;
म सुनाउँछु हजुरलाई
हे, धरतीपुत्री !
 
जब हजुर वनवासमा निस्किनु भयो,
रानी चिन्ताले बिरामी हुनुभयो
पत्नीहरूलाई एक्लाएक्लै छोडेर
महाराजले पनि प्राण त्याग्नु ।

घना जङ्गलभित्र
एउटा रावणलाई भेटेको कुरा गर्नु भयो, हजुरले
रावणहरू यहाँ पनि घुमिरहेका छन्
सभ्यताभित्र अतृप्त आत्माहरू ।

मल्हम अझै लागाउनुपर्छ, के म लागाइदिऊँ?
पैताला दुखिरहेका होलान् ।
के हृदयको दुखाइलाई निको पार्ने केही छ ?

पाखण्डीहरू छन् सबैतिर
आफ्नोभन्दा अरूकै धेरै चासो छ तिनीहरूलाई
आखाँहरू, अदृष्य, जताजतै,
भित्तो, ढोका; कुनै ठाउँ बाँकी छैन ।

आशाको झ्यालबाट माग्छन् कामुक आँखाहरू,
निर्दयी पुरुषहरू धूर्तताका साथ हेर्छन् मलाई
सम्भावित दाउलाई तिखार्दै ।

सैनिक, भलाद्‍मीको छोरो,
विशिष्ट अधिकारीलाई पनि बिर्सेकी छुइनँ
उस्तै छ सबको लोभी चाहना ।

उत्कृष्ट योद्धा र नायकहरू
एउटा मात्र हैन दुईदुई वटा, हजुरको रक्षाका लागि
हजुर नाजुक काँचजस्तै
मेरो त आफैँ छु, अरु को नै पो छ र?

प्यारी दिदी, मेरो कुरा पत्याउँदैनन् मानिसहरू
लाजपचेका सन्तहरू, व्यभिचार र उत्तेजनाले भरिएका।
गर्भवतीले मात्र बुझ्न सक्छिन्
गर्भमा रहेको एउटा जीवनको पीडा ।

एउटा गोप्य कुरा, कसैलाई नभन्नु होला
पुरुषहरू कृतघ्न र अधम छन् यहाँ
तिनका हृदय यति कमजोर छन्
आफ्ना हात नपुग्ने ठाउँको पनि सबै आफ्नै होस् भन्ने चाहन्छन् तिनीहरू।

म खुसी देखिएँ, मेरा पति नहुँदा पनि
तर म सुनाउँछु,
मेरा प्यारा लक्ष्मण नहुँदाको पीडा
सहिरहेँ मैले
आँशुका भेलहरूलाई सम्हालेर ।

उस्तै थियो हजुरको र मेरो अवस्था
एक्लोपनले हजुरलाई सताउँथ्यो रावणको बगैँचामा
मलाई पनि त्यस्तै हुन्थ्यो यो राजमहलको बगैँचामा

न त सहारा थियो, न देवस्थल, जानकी!
कोठाहरू अत्यन्त एकान्तिक थिए,
आफैँलाई थुनेर, साँचो हातमा बोकेकी थिएँ मैले
खपिरहेँ प्रतिध्वनित मनका तरङ्ग र निश्वासलाई ।

कहिल्यै नसकिने पीडाले थर्थरी कमाउँथे मलाई
अति नै डर लाग्थ्यो मलाई, दिदी,
कसलाई भन्न सक्थेँ र मैले
‘मेरो दु:खलाई सुम्सुम्याइदेऊ’ भनेर ।

खै त, पिठ्यूँमा मालिस गरिदिऊँ हजुरको;
ती भोका आखाँहरूका बारेमा भन्छु म हजुरलाई
एउटै कुरा भन्न खोज्दथे प्रत्येकले
सुनाउन चाहन्छु, कसरी बाँचे म ।

हजुर त्यहाँ, र म यहाँ
हजुरको एउटा रावण, र यहाँ असङ्ख्य
‘सीता’ भनेर सम्मान गर्थे हजुरलाई
म, हजुरकी बहिनीलाई जोसुकैले आँखा लगाउँथे।

के अनिष्ट भयो हजुरको विधीले बनाएको पतिलाई?
यी तमाम सम्मानका प्रतिकुल
एउटा खोटका कारण
आगामा हिँड्न लगाए हजुरलाई उनले
मैले सधैँभरि सहिरहेँ दन्किरहेको आगो।

हजुर आफ्नो भएभरको सम्मानका साथ बाँच्नुभयो
हजुरले दन्किएको आगोलाई साम्य पार्नु भयो ।
हजुर धर्मात्मा हुनु भयो !

मेरा अग्नीपरीक्षाहरू कसैले थाहै पाएनन्
एकपल्टको मात्र विजय थिएन
अत्यन्त शौर्यशील र चनाखो रहनुपर्थ्यो
तर हजुरले कहिल्यै लड्नु परेन त्यस्तो युद्ध ।

हजुरको परीक्षा एकपल्ट भयो
म हरेक दिन त्यस्तो परीक्षाबाट गुज्रिएँ
न कतै गुनासो, न कुनै आश्चार्य

आफ्ना गोडामा हेर्नुहोस् दिदी,
फेरि कमलका पत्र झै कोमल भएका छन्
निको भएझैँ देखिनुहुन्छ हजुर
एकछिन आराम गर्नुहोस् हजुर।

एउटा अन्तिम कुरा, प्रिय धरतीपुत्री
म यहाँ छु, धरती
निरन्तर दन्किरहेको ज्वाला छ मभित्र
म हुँ
सधैँ जलिरहने धरती
उर्मिला ।

सधैँ जलिरहेँ म, वर्षा हुने आशमा
तर कुनै राम भएन मेरो
कम से कम
लक्ष्मण त कहिल्यै मेरा हुँदै भएनन्।