ल्याम्पपोस्टमुनि आगोतापिरहेछन्— नानीहरू
युगौँदेखि छ— जाडो
उहिल्यै त दाउरा बाल्थे रे ताप्न 
बाल्थे रे— पानी र हावा 
हामीले बाल्यौँ टायर भत्केका मिनी बसका 
बाल्यौँ खबरकागज र राजनेताका पम्प्लेट
आज नानीहरू बालिरहेछन्— धर्मग्रन्थका अन्तिम पृष्ठ 
फिल्मफेयर र आधुनिक कविता 
के बाल्लान् भोलिका नानीहरू ?
के बाल्लान् हँ…  ?।
युगौँदेखि छ— जाडो
ल्याम्पपोस्टमुनि आगो तापिरहेछन्— नानीहरू ।