भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
जीवन : एउटा लास – एउटा शिशु / हरिभक्त कटुवाल
Kavita Kosh से
प्रत्येक रात -
म आफ्नै दुःखद निधनको शोक-सभा
मनाइरहेको हुन्छु बारको एक कुनामा
एक्लै-एक्लै मौन बसेर ।
प्रत्येक बिहान -
म फेरि जन्मन्छु एउटा तातो सूर्यको स्पर्शले
ममा आफ्नो बीजारोपण गर्दै सूर्य भन्छ -
ता अझ मरेको छैनस् !
ए, तँ अझैँ मर्न सकेको छैनस् !!
तर मलाई लाग्छ -
सधैँ सूर्यास्तसँगै म मरेको हुन्छु
अनि सूर्यास्तसँगै जन्मिसक्छु
र यसरी नै जन्मँदै-मर्दै-जन्मँदै
प्रत्येक रात म एउटा लास बनेर हिँडिरहन्छु
सडिसकेको लास - बुङ-बुङ्ती गनाउने लास !
त्यसैले भन्छु -
ए दुर्गन्ध खप्न नसक्नेहरु !
आ-आफ्नो नाक सम्हाल ! नाक सम्हाल !!
प्रत्येक बिहान म एउटा शिशु बनेर जन्मिसक्छु
जो सूर्य जस्तै बलवान् हुन्छ ;
त्यसैले, ए धाकका धनीहरु !
आ-आफ्नो धाक सम्हाल ! धाक सम्हाल !!