भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

जेठको गर्मीमा एउटी स्त्री / हरि अधिकारी

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

धूलाम्य राजमार्गको उदास किनारामा
असरल्ल पसारिएको एक चोक्टो घामलाई
थोत्रो छाताझैँ ओढेर
हिले अलकत्राले फ्याँकेको अप्रिय आँचलाई
तीन चौथाई देखिएका स्तनका बीचमा
काखे बालकलाई झैँ घुसारेर
पहेलिँदै गएको परबरको वार्धक्यसँग
बिर्सिदै जान लागेको सपनाको मण्डीमा
सजिएका चाहनाहरूको विनिमय गरेर
बिना प्रेम वा उल्लास धेरै मानिसहरूले
धेरै पटक चुमेका पातला ओठहरूमा
कुरूप मुस्कानको मलिनु जलप टाँसेर
लक्ष्मणसिंह खड्काको अचाक्ली लामो पताका
र पर्खालमा टाँगिएको भावी राष्ट्रपतिले उचालेको मुठ्ठीमा
एकछिन हो वा धेरैबेर,अनिच्छाका साथ अलमलिएर
एउटा तरकारी पसलमा एउटी स्त्री
जेठको पट्यारलाग्दो अपरान्हको विरसिलो क्षणमा
खोज्दैछे आफूलाई र एउटा भरपर्दो ग्राहकलाई ।