भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

जेल / कृष्ण सेन 'इच्छुक'

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

म पर्खालभित्र छु
तिमी पर्खालबाहिर छौ
म पहराभित्र छु, तिमी पहराबाहिर छौ
म यातना–गृहमा छु
तिमी खुल्ला शिविरमा छौ
सिकारीले बाँधेको छाँद होस्
अथवा त्यो उसको फाँद होस्
के फरक पर्‍यो र ?
मित्र, अर्काको मुठीभित्र पराधीन जिन्दगी
जहाँ काट्नुपरे पनि त्यो जेल हुन्छ

जहाँ जीवन बन्धनहरूभित्र कैद हुन्छ
जहाँ सुन्दर सपना सधैँ अवैध हुन्छ
जहाँ मुक्त आकांक्षाहरू बन्देज हुन्छन्
जहाँ हार्दिक भावहरूमा ठेस लाग्छ
अनि जहाँ बासी हावा बहने दुर्गन्धमा पनि
निर्धक्क सास फेर्न प्रतिबन्ध हुन्छ
बन्दुकको पहरा होस्
अथवा त्यो कानुनको घेरा होस्
के फरक पर्‍यो र ?
मित्र, भयभीत परिवेशमा त्रसित जिन्दगी
जहाँ बाँच्नुपरे पनि त्यो जेल हुन्छ।

जहाँ बेला–कुबेला रमन घुमिरहन्छ
जहाँ कारण–अकारण साइरन बजिरहन्छ
सडकमाथि बेलगाम घोडाको टापजस्तै
जहाँ चर्काे आवाज गरी मार्च–पास चलिरहन्छ
अनि जहाँ मौसम बेमौसम बारुदहरू गर्जेर
सधैँ रगतको झरी परिरहन्छ
पर्खालभित्र होस्
अथवा त्यो पर्खालबाहिर होस्
के फरक पर्‍यो र ?
मित्र, सधैँ छातीमा चाँदमारी थापेको जिन्दगी
जहाँ गुजार्नुपरे पनि त्यो जेल हुन्छ

उही दिन सधैँ, उही रात सधैँ
उही बिहान र साँझ साथ छ
उही स्वप्नभंग विवश जिन्दगी
उही गतिहीन समय साल छ
निकासबिनाको बन्द तालजस्तै
जहाँ गन्दा समाजसाथ अँधेरो बास छ
कुनै अनाम देश होस्
अथवा त्यो प्रिय स्वदेश होस्
के फरक पर्‍यो र ?
मित्र, उत्पीडित समाजमा पददलित जिन्दगी
जहाँ बिताउनुपरे पनि त्यो जेल हुन्छ।