भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

झण्डा समाउने हात / मौन आवाज

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

झण्डा समाउने हात कस्तो हुनुपर्छ ?
अवश्य पनि हुनुहुँदैन दासताले झुकेको
हुनुहुँदैन शिथिल रक्त धमनीले भरिएको

झण्डा समाउने हात हुनुपर्छ
आत्मसम्मानले उठेको !

झण्डा समाउने हात हुनुपर्छ
उत्तेजनाले कस्सिएको !

झण्डा समाउने हात फोहोर हुनुहुँदैन
हुनुहुँदैन कदापि हिलोमा लत्पतिएको !

झण्डा समाउने हात
हुनुपर्छ बिल्कुल आकाश जस्तै सफा !

झण्डा समाउने हात
काँपेको हुनुहुँदैन !

झण्डा समाउने हात
विश्वासले भरिएको हुनुपर्छ !

झण्डा समाउने हात
त्यस्तो हुनुपर्छ
जस्तो हुनेगर्छ आँधीमा एकोहोरो हिँड्ने
समुन्द्री जहाज

झण्डा समाउने हात
त्यस्तो हुनुपर्छ
जस्तो हुनेगर्छ भूकम्पमा पनि नढल्ने पहाड

झण्डा समाउने हात
ध्यानमग्न हुनुपर्छ
ज्ञानमग्न हुनुपर्छ !

झण्डा समाउने हातलाई छुट हुँदैन
यताउता गर्न ।
झण्डा समाउने हातलाई छुट हुँदैन
त्यतायता गर्न ।

किनकि
झण्डा समाउने हात
झण्डा समाउनेको मात्रै हुँदैन !

०००