झरेका पातहरू / ज्याक प्रिभेर / सुमन पोखरेल
कामना गरिरहन्छु म
हामी साथ रहँदाका रमाइला दिनहरू
तिमीले पनि सम्झिरहेकी होऊ भनेर।
अहो!जीवन कति प्रष्टसँग उज्यालो थियो त्यसबेला
र कति धेरै न्यानो थियो घाम, अहिलेको भन्दा!
डोकाहरूले झरेका पातहरू बटुलेर लगे।
बिर्सेको छुइनँ मैले;
डोकाहरूले झरेका पातहरू बटुलेर लगे
सम्झनाहरू र पछुतोहरू पनि लगे
हुरीहरूले तिनलाई बोके
र अझ पर
विस्मृतिका चिसा रातसम्म पुर्याए।
बिर्सेको छुइनँ मैले
तिमीले मेरा लागि गाएको गीत
हामी दुईलाई एकैठाउँ जोडने त्यो प्रेमगीत।
सँगसँगै बाँच्यौँ, हामी;
तिमी र म दुबै।
तिमी, जसले मलाई माया गर्यौ
र म, जसले तिमीलाई माया गरेँ।
तर अलग्याइदिँदोरहेछ जीवनले
मायामा जोडिएकाहरूलाई
हलुकैसँग
कुनै आवाजै ननिकाली,
र मेटाइदिँदोरहेछ समुद्रले बालुवाबाट
एकसाथ हिँडेका प्रेमीहरूका पाइलाका डोबलाई।