टिलपिलिएका आँखाहरू / वसन्त चौधरी
मायालु स्पर्शले तिमीलाई लेखेको पहिलो प्रेम पत्र
मैले अझै बिर्सेको छैन
तिम्रो उत्कन्ठित मधुर मुस्कान
मैले अझै बिर्सेको छैन
असङ्ख्य भावनामा बगेर,
मैले कोरेका कविताका ती पंक्तिहरु
मैले अझै बिर्सेको छैन
बाँह फैलाई तिमीलाई अङ्कमाल गर्न खोजेको
मैले अझै बिर्सेको छैन
तिमीले झटारेर पन्छाएको मेरो हात
मैले अझै बिर्सेको छैन
मौन समर्थनका तिम्रा ती नटखट संकेतहरु
मैले अझै बिर्सेको छैन
तिमीसँग जिस्किदैं बिताएका क्षणहरू
मैले अझै बिर्सेको छैन
अनि तिमीलाई बाहुपासमा लिँदा बगेका आँसुहरू
मैले अझै बिर्सेको छैन
तर अचानक के भयो
हामीले देखेको सपना किन चकनाचुर भयो
हाम्रो मायाको महल कसरी भताभुङ्ग भयो
अब त केवल म देख्छु
वियोगमा पिल्सिएका,
टिलपिलिएका मेरा ती आँखाहरू
हाम्रो अपूर्ण मिलनको बिछोडको रोदन,
अनि मुटुले चिच्याई चिच्याई बोल्न खोजेका भाखाहरू
तिम्रो रापिलो श्वासको न्यानो आभाष,
अझै फिँजिएको भेट्टाउँछु मेरो वरिपरि
अझै महसुस गर्छु तिम्रो स्पर्शको मधुरो चुभन,
सम्झना ढाक्ने गरी
तिर्सना बाँच्ने गरी
तिम्रो त्यो मुटुको तेजिलो धड्कन,
म अझै सुन्छु मुटु साँच्ने गरी
तिम्रो त्यो झील नयनमा
म अझै डूव्छु र उत्रिन्छु
तिम्रा ती मधु वाचाहरू,
म अझै दोहोऱ्याउँछु र मुस्काउँछु
तिमीसँग खर्चिएका ती स्वर्ण क्षणहरू,
तिमीसँग साटिएका ती मोती पलहरू,
सम्झँदै म भित्रभित्रै फक्रिन्छु
तर तिम्रो मेरोबिचको त्यो कोसौंकोस रित्तोले,
म जीवनमा ओइलिन्छु
ए मेरी माया,
तिमीले मलाई अन्तिम अङ्कमाल गर्दा
तिमी जसरी मुटुभरि रोएकी थियौ
तिमीले झारेका,
ती सारा आँसुहरू अब फर्केछन्
मेरो आँखाभरि, मेरो आत्माभरि
मेरो जीवनभरि, मेरो अस्तित्वभरि