भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

ट्रक ड्राइवर / भूपिन

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

खतरनाक हुन्छ
बाक्लो हुस्सु लागेको मनमा सवारी चलाउनु ।
दिलमाया, म ट्रक चलाइरहेछु ।

बैंसको भीर कोतरेर बनाएको
सपनाहरूको कच्ची बाटो,
जाडोका अल्पिनहरूले घोचिरहेका नाङ्गा औंला,
र यो बाटै नदेखिने गरि
हुस्सु लागेको मनको घुम्ती !
दिलमाया, म ट्रक चलाइरहेछु ।

थिच्दा थिच्दै
हर्नको घाँटी सुख्खा भैसक्यो
ट्रकको सिसा आँसुले भरियो र वाइपर बिग्रियो
ब्रेकलाई अल्ज़ाइमर भयो
थाहा छैन
कति नजिकै पर्खेर बसिरहेछ दुर्घटना ।
दिलमाया, म ट्रक चलाइरहेछु ।

यो मेरो जिन्दगीको अहम् लडाँइ हो दिलमाया ।
जिन्दगीको झुपडीभित्र बसेर
मलाई कुरिरहेकाछन्-
सपनाका भोका बच्चाहरूले ।
उनीहरू निदाउनुअघि
कि त मैले ढुङ्गा उमालिरहनुपर्छ छातीको डेक्चिमा
कि रोटी कमाउनु पर्छ
कि कतै सडक छेउबाट
हाम फाल्नु पर्छ नदीमा ।

दिलमाया
नदीमा हाम फाल्न
बनेको होइन म ट्रक ड्राइवर ।

बाटै नदेखिने गरि
हुस्सु पालेर बसेकिछौ तिमी वर्षौंदेखि-
दिलमाया ।
म त्यहीँ चलाइरहेछु-
एउटा थोत्रो ट्रक ।