भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

ठुलेको गाउँ / निमेष निखिल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


 
अबोला अनुहार
अभावको मानचित्र ओठभरि टाँसेर मुस्कुराउँछ
भँगेराका बथानहरू
विपन्नताको बिस्कुन चर्छन् आँगनभरि
माटे भित्ताको सिमानाभित्र
निर्द्वन्द्व हाँस्छ साँघुरो मझेरी
निषेधका छेकबारहरू छैनन् कतै
अन्त्यहीन स्वागतम्का निर्लिप्त मुस्कान छरेर
विराट् सम्पन्नता सँगाल्छ ऊ
यस्तै छ ठुले
यस्तै छ ठुलेको गाउँ।
 
गुन्द्रुक र ढिँडोसँग
चौरासी व्यञ्जनको मिठास साटेर
अपार शक्तिसञ्चय गर्छ ऊ
बिउदेखि बालीसम्मको प्रतीक्षामा
अपरिसीम धैर्यको
विश्वासस्तम्भ उभ्याएर छातीमा
बोकिरहन्छ ऊ
अनन्त योजनाका आकारहरू–
– ठुलीको फरिया फेर्नु छ
– सानेलाई भोटो हाल्नु छ
– साइँलाको पाली छाउन सघाउनु छ
– तल्लाघरेको खेत बाढीले लग्यो
– छिमेकी धर्म बिर्सेको छैन उसले
मृत्युलाई पनि
ससत्कार एकैछिन पर्खाएर
उपकारको बदला चुकाउन लालायितजस्तो
गर्दागर्दै गर्नै केही बाँकी रह्यो कि?
जिन्दगीको छोटोपनमा
सधैँसधैँ भयभीतजस्तो
थोपाथोपा निथारेर पौरखका पसिनाहरू
रित्तो हात गए पनि हुन्छ कहिल्यै नफर्कने यात्रामा
यसै भनेर सोच्छ ऊ
यस्तै छ ठुले
यस्तै छ ठुलेको गाउँ।