भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

डबली / नोरेम

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

टयाम्केबाट झरे है
हिन्हिनाउँदै घोडाका बथानहरू
पिठ्यूँमा राडीपाखी बोकेका
एक हूल मानिसहरू
दिल्पा र छिनामखुको
सुन्तलाको ढाकर
गफ गर्दै झरिरहेका
छुर्पी र जिम्बूहरू
 
गरपगरप हिँडिरहेका पाइलाहरू
तर्नै लागे कि क्या हो
सेरा खोलाको काठे साँघु
हरक्क वासना आइसक्यो त
यहाँ यो डबलीमा
 
घुर्बिसे र लेखर्कबाट हिँडे जस्ता छन्
सेर्गेम बोकेका राता अनुहारहरू
आँगनमा निस्के जस्ता छन्
घिउ जस्ता आलुका भारीहरू
अट्टे चामल आइ पुग्यो है
फालिकोटबाट थुन्सेमा
जौडे कौडे भालेहरू
आइपुगे क्वाक...क्वाक कराउदै
खाँदिएर पेरुङ्गाहरूमा
पिखुवाको उकालोमा पसिना पुछ्दै
आइपुगे हतुवागढीका
अदुवा, बेसार र डल्ले खुर्सानीहरू
बोखिम चम्किन थाल्यो चमचम
राँगो छिनाल्ने खुकुरीहरूमा
फलाट खाएर ओठ रङ्गाउनेहरू
रमाउन थाले डबलीमा
गम्केको छ डबली आज
एउटा बेग्लै चुरीफुरीमा
  
बाली थन्क्याएर मग्न घाम ताप्दै
हेर्दैछन् खेतका फाँटहरू डबलीलाई
बेतोड दौडिरहेका घोडाका टापहरू
नापिरहेछन् डबलीको आयतनलाई
जाडोमा धुनी ताप्दै
उफ्रँदै नाचिरहेछ डबली
उर्लेर आएको पहाडसँगै
उन्मुक्त हाँसिरहेछ डबली
मादल र मुर्चुङ्गाका पखेटाहरूमा
उँड्नै लाग्यो त डबली
आसुकविका दोहोरीहरूमा
रनबन भयो त डबली
  
भोजपुर
डबली
मादल र मुर्चुङ्गा
निरन्तर बगिरहेको पिपलधारा
उस्तै छन् अहिले पनि
छैन कतै यतिबेला
डालोभरि यौवन लुकाएर
हाट भर्न झर्ने एउटा लजालु आकृति
के भयो हँ ?
थाहा छ कसैलाई ?
उदास चकमन्नतामा
केवल सुनिन्छ
बाँसझ्याङ्मा कराइरहेका
एक बथान रूपीहरूको
एउटा नीरस चिरिबिरी ।