भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

ढुङ्गाका मान्छे र हाडमासुका देवताहरू / निमेष निखिल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज



ढुङ्गाका मान्छेको बस्तीमा
ढुङ्गाका मनहरूको पटाङ्गिनीमा
ढुङ्गाका भावनाहरूको सतहमा उभिएको छु

अर्थात् एउटा ढुङ्गा।
 
मनहरूमा
: संवेदना दुख्न छाडेपछि
: भावना दुख्न छाडेपछि
: विचार दुख्न छाडेपछि
: सदाचार दुख्न छाडेपछि
: र एउटा सिङ्गो देश दुख्न छाडेपछि
मान्छे ढुङ्गामा अनुवाद हुँदो रहेछ
जसरी म भएको छु
जसरी तँ भएको छस्
जसरी तिमी भएका छौ
जसरी तपाईँ हुनुभएको छ
जसरी मान्छे भएका छन्
जसरी सबै सबै सबै सबै सबै सबै सबै सबै भएका छन्।
बस्तीभरि ढुङ्गाहरूको कोलाज छ
हातहरू अर्थात् ढुङ्गा
गोडाहरू अर्थात् ढुङ्गा
टाउकाहरू अर्थात् ढुङ्गा
अर्थात्हरू अर्थात् ढुङ्गा
'हरू'हरू अर्थात् ढुङ्गा
सिङ्गो सग्लो मान्छे अर्थात् ढुङ्गा
मान्छे ढुङ्गाहरू अर्थात्
ढुङ्गा मान्छेहरू।
 
ढुङ्गाका उपासक स्वयम् ढुङ्गा भएपछि
ढुङ्गाका हितचिन्तक स्वयम् ढुङ्गा भएपछि
ढुङ्गाका सर्जक ढुङ्गा नै भएपछि
ढुङ्गाका पूजक पनि ढुङ्गा नै भएपछि
ढुङ्गाका शत्रु र मित्र पनि
ढुङ्गा नै भएपछि
ढुङ्गाका परिपालक
र संहारक समेत ढुङ्गा नै भएपछि
अनि स्वयम् मान्छे नै ढुङ्गा भएपछि
रातारात बेपत्ता भए
मेरो बस्तीको मन्दिरबाट
मान्छेले श्रद्धाले पुज्ने गरेका
ढुङ्गाका देवताहरू।
 
सुनिन्छ
मान्छेको संसर्गभन्दा निकै पर
मन्दिरबाट हराएका ढुङ्गाहरूले
एउटा अनौठो बस्ती बसालेका छन्
बस्ती :
जहाँ भोकहरू छैनन्
रोगहरू छैनन्
शोकहरू छैनन्
झोकहरू छैनन्
बस्ती :
जहाँ अभावहरू छैनन्। दुर्भावहरू छैनन्
दबाबहरू छैन्। रबाफहरू छैनन्
बस्ती :
जहाँ संवेदित मनहरू मलहम लिएर घुम्छन्
आर्तहरू खोज्दै
जहाँ आत्मीयताको बादल सियाल बोकेर हिँड्छ बस्तीमाथि
जहाँ स्नेहका झरनाहरू निर्झर बगिरहन्छन्
बस्ती :
जहाँ भ्रातृत्वको कहिल्यै नझुक्ने झन्डा गाडेका छन्
ढुङ्गाहरूले।
जहाँ मातृत्वको कहिल्यै नसुक्ने नदी बगाएका छन्
ढुङ्गाहरूले।
 
हेर्दाहेर्दै
ढुङ्गाका देवताहरू
हाडमासुका देवतामा रूपान्तरित भए।
 
हेर्दाहेर्दै
ढुङ्गाको बस्ती
हाडमासुका मान्छेको बस्तीमा रूपान्तरित भयो
 
हेर्दाहेर्दै
ढुङ्गाका मनहरू
सुकोमल भावमयताले भरिन थाले
कहाँ छ मेरो मान्छे ?
तेरो मान्छे ?
तपाईँको मान्छे ?
हजुरको मान्छे ?
हाम्रो मान्छे ??
सबै सबै सबै सबै सबैको मान्छे ?
अर्थात्
आजको विश्व मान्छे ?
कहाँ छ ?
कहाँ छ ??
कहाँ छ ???
 
किन ढुङ्गा बन्यो हाम्रो साँच्चैको मान्छे ?
किन किंवदन्ती बन्यो ?
अपत्यार बन्यो। अन्धविश्वास बन्यो। परपीडक बन्यो।
पापिष्ट बन्यो। दुरात्मा बन्यो। छलकपट बन्यो।
विश्वासघात बन्यो। कुचेष्टा बन्यो। जनावर बन्यो।
र ... ... बन्यो।
र ... ... बन्यो।
र ... ... बन्यो।
र ... ... बन्यो।
र ... ... बन्यो।
आफैलाई नचिनेर
गाउँहरू किन भत्कायो मान्छेले ?
सहरहरू किन बिगार्यो मान्छेले ?
फूलबारीहरू किन खण्डहर बनोयो मान्छेले ?
आफ्नै घर सल्काएर। आफन्तकै लागि काल पल्काएर।
आस्थाहरू भाँचेर। विश्वासहरू कुल्चेर। ममताको घाँटी निर्ममतापूर्वक थिचेर। आत्मीयताहरू पाखा लगाएर। सिर्जनाहरू नामेट गरेर। सम्भावनाका सबै ढोकाहरू थुनेर। सहयात्रीको पिठ्युँमा छुरा रोपेर। मान्छेकै कोटिबाट तल झरेर।
कहाँको यात्रामा निस्केको हो हाम्रो हाडमासुको मान्छे ?
कसलाई भेट्न बेलगाम दौडेको हो हाम्रो मान्छे ??
साँच्चै के गर्न लागेको हो हाम्रो मान्छे ???

के गर्न लागेको हो हाम्रो मान्छे ???
के गर्न लागेको हो हाम्रो मान्छे ???
के गर्न लागेको हो हाम्रो मान्छे ???
 
फेरि पनि
ढुङ्गाहरूकै बस्तीमा। ढुङ्गाहरूकै समाजमा। ढुङ्गाहरूकै भिडमा। ढुङ्गाहरूकै देशमा। ढुङ्गाहरूकै सीमान्त प्रदेशमा।
र ढुङ्गाहरूकै अनन्त आकाशमा।
म अर्थात् एउटा ढुङ्गा
तँ। तिमी। तपाईँ। हजुर अर्थात् एउटा ढुङ्गालाई
यही एउटै यक्ष प्रश्न :

के गर्न लागेको हो हाम्रो मान्छे ???
के गर्न लागेको हो हाम्रो मान्छे ???
के गर्न लागेको हो हाम्रो मान्छे ???
 
युगौँदेखि सोधिरहेछु। युगौँदेखि सोधिरहेछु।
युगौँदेखि सोधिरहेछु।