भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
तन्नेरी / दुर्गालाल श्रेष्ठ
Kavita Kosh से
चरा देख्दा किन – किन
आजभोलि मनै मन,
चिर्बिर गर्दै उडूँउडूँ
लाग्छ मलाई वनै वन ।
कैले कता, कैले कता
लचकलचक लतालता,
झुलाउँदै झुलूँ लाग्छ
बिम्झाएर पतापता ।
चिप्लेटिँदै कैले वनको
मार्दै छहराको फन्को,
गुन्जूँगुन्जुँ लाग्छ मलाई
कैले पहराको रन्को ।
बिर्सी सारा किताबकापी
पखेटाले आकाश नापी,
चढूँचढूँ लाग्छ उँभो
फुक्कापनको सित्तल तापी ।