भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

तिनलाई मेरो स्वागत / ईश्वरवल्लभ

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

त्यसदिन अलिकति गीत गाइरहन मन लागेको थियो
वरिपरि सबै उल्लसित र हरियो भइरहेको थियो,
मैले एउटा कलिलो हाँगा समाएर
हावामा हल्लाएको पनि हुँ – कसैलाई स्वागत गरेझैँ गरेर
म क्षितिजबाट आउनेहरूलाई
परको रातो घाम समातेर आउनेहरूलाई
ठूलो टापको आवाज लिएर आउनेहरू
कि बिस्तारै बिस्तारै आउनेहरू, सबै मेरा आफन्त थिए,
म तिनीहरूलाई कलिलो हाँगाले बोलाइरहेको थिएँ,
हेरिरहेको थिएँ – कसरी आउँछन् त्यहाँबाट तिनीहरू,
तिनीहरूले त पहिले आकाशको पर्दा सार्दारहेछन्
गोरेटो हेर्दारहेछन्,
अनि अलिकति समयको आली र शिखरका भरेङ
– नाघेर आउँदा रहेछन् ।

तिनका पाइतालाहरू कमलो घामले बुनेको हुँदोरहेछ
कलिला साँझहरूले बाँधेको हुँदोरहेछ
कोही त खोलाजस्तो हँसिलो चेहरासित आउँदा रहेछन्
मैले सधैँ खोजिरहेको
अन्जान र नचिनिँदाझैँ हुने बैँसका डोलीहरू चढेर
कि कहिले चारै दिक् ले चारैतिरबाट
किरणको नोलले बोकेको उलिन्काठ चढेर
पनि आउँदा रहेछन् ।

त्यसदिन अलिकति उचाइ समाइरहन मन लागेको थियो
छेउमा कमलको फूलको एक बिटालाई
अङ्कमाल गरी ती तथागतहरूलाई हेर्न मन लागिरहेको थियो
आगत भएर पनि अनागतझैँ कतै लुकिबस्ने
परिवेशका भव्यताहरू,
सँगै आएर छोइसकेपछि पनि नदेखिने
– वातावरणका सौष्ठवहरू – म हेरिरहन्छु
तिनीहरू आउन्जेल
भय लाग्छ मैले स्वागतमा हल्लाइरहेको यो कलिलो हाँगा
सुक्ने त होइन तिनीहरू आउन्जेल
त्यसैले म हाँगाहरूलाई छिनछिनमा शीतले भिजाइरहेको थिएँ
तिनीहरूलाई छायाको ओत पनि चाहिएला भनी,
म रूख उमारिरहेको थिएँ,
तिनलाई राम्रा गीतहरू मनपर्लान्, कि भनेर
– म शब्द कपिरहेको थिएँ
बिस्तारै बिस्तारै मोहका छिनाहरूले
तिनीहरूलाई मनपर्ने किसिमको एउटा मूर्ति
– ढुङ्गामा खोपिरहेको थिएँ,

खोई त, अहिलेसम्म यहाँ किन आइपुगेनन्
– भन्ने पनि लाग्छ
कतै ती आगतका आभासहरू मरुभूमिको
– टल्किने बालुवा त होइनन्
– शङ्का लाग्छ ।

तैपनि त्यसदिन गीत गाइरहन मन लागेको थियो
धरोधर्म, तिनीहरू निश्चय आउँछन् भनेर
स्वागतमा हाँगा हल्लाइरहन मन लागेको थियो ।