तिमीलाई भनेर / निमेष निखिल
प्रेम गर्नुको अर्थमा
स्वच्छ आकाशको नीलाभ―
मैले तिम्रो नाममा लेखिदिएको छु आज।
उक्लेर जिन्दगीका उकालीहरू
ओर्लेर जिन्दगीका ओरालीहरू
धेरै खेलियो बाँच्ने खेल जिन्दगीमा
उक्लेर उकालो, शिखर टेक्दा पनि तिमी भेटियौ
ओर्लेर ओरालो, फेदी पुग्दा पनि तिमी नै भेटियौ
तिमीसँगको सहयात्रा बाहेक सारा इच्छाहरू रेटिदिएको छु
धरतीको सारा हरियाली पनि मैले―
तिम्रै नाममा लेखिदिएको छु।
कस्तरी बस्यौ आँखामा तिमी ?
राता गुलाबहरू मात्र छन् दृष्टिको सीमान्तभरि
कस्तरी आयौ जीवनमा तिमी?
आशाका किरण मात्र छन् आगतका गोरेटाभरि
तिम्रो सामीप्यमा दुई पल बाँचेर
युगौँयुग बाँच्ने तृष्णा मेटिदिएको छु
र त देखौँ सपना समेत तिम्रै आँखाले भनेर
आफ्ना सारा सपना पनि आज
मैले तिम्रै नाममा लेखिदिएको छु।