अन्तिमपल्ट सास फेर्यौ् 
तिम्रा आँखा छोपिदिएपछि 
म आफ्नै मनको आगोमा सल्किएँ । 
 
शरीर छोडेर मेरै अगाडिबाट 
कुन यात्रामा निक्लियौ अदृष्य तिमी 
मान्छेको यो सुन्दर संसार  
या खुद मलाई  
देख्न सक्छौ कि सक्दैनौ तिमी ? 
 
तिमीसँगै भाँचिएछ लोभको तगारो   
निभेछ मायाको जलन 
हतारले उठाएछ बास,  
ती सुतेका ओठहरु 
गलेका हातहरु 
तिम्रो 
लत्रेको शरीर अगाडि 
नतमस्तक भए मजस्तै । 
 
जीवनको प्रकाशित सत्य  
म पहिलोपल्ट नजीकैबाट छाम्दैथिएँ .. 
सोचिरहेथेँ तिम्रै अप्ठ्याराहरु  
थाहा पायौ कि पाएनौ  
त्यतातिर हिड्ने बाटो 
उड्ने आकास 
या भासिने पातालका पत्रहरु ? 
 
म तिमीले हिडेका  
यहीका बाटाहरुमा छु, 
र सोचिरहेछु 
को होला बताइदिने 
मृत्युको अनुभूति ?