भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

तिमी र म / गीता त्रिपाठी

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

स्नेहमयी ममताको
सु-शीतल आभासले
एकअर्काको आँखामा फूलजस्तै
सुकोमल फुल्नुपर्ने हो-तिमी र म,
खै ? कस्तो विवशताले हो कुन्नि
सपना र विपनाजस्तै
दुर्भाग्य बनिदिएको छ ।
 
प्रेरणा र जीवनजस्तै
आँखा र दृश्यभरि
भावनाभरि तिमीलाई
स्नेहको छहारी भइदिनुपर्ने हो,
यथार्थ कस्तो विक्षिप्त भइसकेछ
पाखा र डँढेलोजस्तै
भावना रुखो भइसकेको छ ।
 
मनको आँगनीमा
बालेर विश्वासको दियालो
एक-अर्कालाई बुझ्नुपर्ने थियो,
स्नेहाभावले
खै ? कस्तो परिवर्तनले हो कुन्नि
सम्झनाले मात्रै पनि मन
कुँढिने भइसकेको छ ।
 
बहारविनाको वसन्तजस्तै
एउटाको आँसुमा
हाँस्न खोज्नुको अर्थ,
जत्ति नै निरर्थक भए पनि
हिउँदको चिसोले खुम्चिसकेछ सम्बन्ध,
तिमीलाई देख्दा
यो मन,
झसक्क झस्कने भइसकेको छ ।