भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

तिम्रो आँखामा कविता / देवान किराती

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


मसँग एउटा कविता छ
तिमीलाई पढ्न मन लागेछ भने कुनै बेला
पानी–तालमा हेर
या ऐना–झ्यालमा हेर
ठ्याक्कै तिमीजस्तै छ कविता ।

कविता– जो सबैका प्रिय पनि हुन्न
कविता– जो सबैको हेला पनि हुन्न
ए है !
तिमीलाई मन नपर्दैमा कविता
हत्या गर्न सक्छौ र कुनै अँध्यारोमा ?
या मनपर्दैमा कविता
लुकाउन सक्छौ र कुनै अधरमा ?
तिमी मनपराऊ या नपराऊ कविता
तर ठ्याक्कै तिमीजस्तै छ कविता ।

जूनजस्तै छ कविता
कविताजस्तै छ जून
तिमीलाई मनपर्छ भने जून
किन मनपर्दैन हँ ! कविता ?
बिलकुल
एउटै छ गुण
कविता र जून ।

हिउँदमा पैयुँसँगै फुल्छ कविता
तिम्रो आँखामा
वर्षात्मा– इन्द्रेणीसँगै खुल्छ कविता
तिम्रो आँखामा
तिमीलाई मन नपरे
आँखा बन्द गर्दा पनि कविता
तिमीलाई मन परेर
आँखा खोल्दा पनि कविता
जे गर
जे बन
जे भन
ठ्याक्कै तिमीजस्तै छ– कविता ।