त्यसैको सम्झना आयो / सुमन पोखरेल
कुनै अर्थ नखुल्ने यो कसको रचना आयो
व्यर्थै आज फेरि एक चिट्ठी थपना आयो
सागर, जून, क्षितिज, र तिमीलाई सम्झेँ
हुन बाँकी हाम्रो मिलनको कल्पना आयो
मेरो कोठा, मेरा किताब, अनि मेरा कपडा
छैनौ तिमी, तर जतै तिम्रो सुवासना आयो
तिमीलाई सम्झिएर गजल रचेँ दिनभर
रातभर तिमीजस्तै अस्पस्ट सपना आयो
निरन्तर खटिरहेको देखेँ जब तिमीलाई
हृदयमा प्रेम आयो, ओठमा बन्दना आयो
साँझ देखेँ सुनौलो किरन, रात हेरेँ जून
मेरो मनमा अनेकअनेक कामना आयो
तिमीलाई थाह भए भनिदेऊ यति मलाई
मेरो बोधो मनमा किन प्रेमिल भावना आयो
पागल, झोँक्की, फन्टुस र अरू केके केके
प्रेम गर्दा पनि मलाई अनेक लाञ्छना आयो
बाटाभरी फूल, पुतली, परेवा जोडी देखेँ
निस्केथेँ जे बिर्सन त्यसैको सम्झना आयो
यहाँ म छु, उता तिमी, बीचमा छ संसार
भेटै नभई मर्ने हुँ कि भन्ने तर्कना आयो
एउटा मन एउटा दुखाइ कति बेस हुन्थ्यो
किन मेरो मनभरी यति धेरै वेदना आयो
मानौँ, ती पर्खिबसेथे यही खबर सुन्नलाई
सुमन ! तेरो लास नउठ्दै समवेदना आयो