भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

त्यो हठात् हराएको हिरोशिमा / मनप्रसाद सुब्बा

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


सहरबीचमा
हठात् उम्रिएर खडा भयो
यौटा विषालु च्याउको विराट छाता ।
अनि एकाएक सेतो भएको पर्खालमा भित्तामा
मानिसहरूले देखे आ-आफ्ना छायाँका छायाँहरू ।

एक छिनपछि
त्यहाँ क्यै थिएन ।
हज्जारौं मेगावाटको व्हाइट होलले निलेर
जम्मै उज्यालोहरू हराइसकेका थिए ।
उज्यालोको अस्तित्वै नरहेपछि
त्यसको सहचर अँध्यारो पनि रहेन ।

त्यै दिनदेखि
व्हाइट होलको आयतन बढेको बढेकै छ ।
त्यसैले अब
अँध्यारोको कोखबाट जन्मिने
उज्यालो सपनाहरू छैनन् ।
बस्, रानी हराएका आँखाहरू मात्र छन् ---
से..तो ! एकदम हेर्नै नसकिने सेतो !