Last modified on 28 मई 2017, at 08:15

दाइजो कविता / विक्रम सुब्बा


मसँग दुइटा स्वस्थ आँखा छन्
मलाई एउटा भए
दुनियाँको कालो सेतो हेर्न पुगिहाल्छ
तिमी एउटा आँखा लैजाऊ
कतै बेच
त्यसले शिरबन्दी किन ।

मसँग दुइवटा लगनशील हात छन्
मलाई एउटा भए
जिन्दगीको कविता लेख्न पुगिहाल्छ
एउटा हात तिमी लैजाऊ
कतै बेच
त्यसले रङ्गीविरङ्गी चुराहरु किन ।

मसँग एक मुठी चोखो मुस्कान छ
जो मेरो ओठमा बेलायक देखिन्छ
बिक्ला कि कतै बजारमा लैजाऊ, बेच
र सपनासँग मिल्दो रङ्गको एउटा पछ्यौरा किन ।

मसँग एउटा फूलजस्तो खुशीको बिरुवा छ
जो मेरो छातीमा सप्रिन सकेको छैन
कुनै सौखिनले फूलदानीमा सजाउन किनिदेला कि ?
लैजाऊ, सौखिनहरुको प्रदेशमा बेच
त्यसैले रहर जस्तो गुन्यू चोलो किन ।


कतै नबिकेको
मसँग एक गाग्रो पसिना छ, लैजाऊ
त्यसले कपाल नुहाइदेऊ
बग्दा-बग्दै पनि नसिद्धिएको
मसँग दुइ थोपा आँसु छ,
लैजाऊ, त्यसले गोडा धोइदेऊ ।

राक्षसहरुबाट मुस्किलले जोगाइराखेको
मसँग अलिकति शुद्ध रगत छ, लैजाऊ
अक्षतासँग मुछेर निधारमा लगाईदेऊ
सम्पतीको नाममा मसँग यही कविता छ,
लैजाऊ, पछ्यौरामा दाइजो हालिदेऊ ।

मसँग आर्शिवादको एउटा ताजा थँगा छ, लैजाऊ
शिरमा राखिदेऊ, र तिम्रो तर्फबाट यति थपिदेऊ-
कि युद्ध शुरु भइसकेको हुनाले
उसको प्यारो अङ्कल
गरिबीको मोर्चा छोडेर
छोरीको विवाहमा आउनै सकेन ।