दाइ कविता ! खै कविता ! / हरिभक्त कटुवाल
यस सहरमा ओहर-दोहर गर्ने आकृतिहरुमा
कविता खोजेर धेरैपल्ट निराश भएको छु भाइ !
तर सधैँ मेरै जस्ता ती अनुहारहरु पनि
अल्झिरहेका पाएको छु दाल, भात, डुकुकै समस्यामा ।
मानौँ हामीले बिर्सिसकेका छौँ मानिस हुनुको अर्थ
र खटनभन्दा पनि हामी केही सोच्न सक्दैनौँ
कुनै घेरा नाघेर हामी कतै फड्कन सक्दैनौँ
अनि यहाँ कविता कहाँ पाउनु भाइ ?
कविता त कतै भोकाएको ज्यामीको अनुहारमा होला
- जो राजमार्गमा दिन-दिनभरि ढुङ्गा फोरिरहेको हुन्छ
अथवा कतै कुनै लाहुरेको उदास अनुहारमा होला
- जो आफ्ना बाल-बच्चा बिर्सेर रातभरि दर्बानी गरिरहेको
हुन्छ
होइन भने, सारङ्गी रेटेर बह बिसाउने कुनै गाइनेको
अनुहारमा होला
- जो कुनै पर्यटकबाट पाँच पैसा पाउँदा पचासपल्ट
निहुरिरहेको हुन्छ ।
तर न एक बेफुर्सदी मान्छे - थोरै कवि बढी जागिरे
जसलाई कविता खोजिहिँड्ने फुर्सद नै छैन
अनि म कविता कहाँ पाऊँ - के दिऊँ ?
बरु यस्तो लागिरहेछ यसबेला आफैँलाई
कुन म्युजियमको एक कुनामा थन्को लगाइदिऊँ आफ्नै यो
जिन्दगी
र लेबिल टाँसिदिऊँ ठूला-ठूला अक्षरमा -
'यो हरिभक्त कटुवाल हो
- यो मृत्युको डरले सधैँ भागिहिँड्छ
यो त्यही कटुवाल हो
- जो स्वस्ति गरेर भए पनि
आफ्नो जागिर जोगाउनैमा तल्लीन छ ।'