दानव (हिटलर) र कवि / डा.भी.के. गोकक 'विनायक' / सुमन पोखरेल
निन्याउरो थियो अनुहार।
उसलाई परित्याग गरिसकेको थियो हत्याको आनन्दले।
पलभरमै मलिन भएको उसको मुस्कानले
त्यागिदियो ऊभित्रको तिक्ततालाई
विश्वलाई हल्लायो उसले र उल्टो पार्यो इतिहासलाई ।
सम्पूर्ण युरोपको एक्लो सम्राट भएथ्यो, एउटा सामान्य सिपाही
अति चाँडो, कुनै द्रुतगतिको रेल स्टेसन-स्टेसन कुदेझैँ
जोडेथ्यो उसले एकपछि अर्को देश, हरेकलाई आफ्नो उपग्रह बनाउँदै
ऊसँग डराउन जानेको थियो संसारले ऊबेला
तर अब भने, एउटा डरलाग्दो गल्ती हुनेथ्यो, बाँच्नु र सास फेर्नु मात्र पनि ।
ज्योतिषको अनुयायी हिटलर -
तर पतन्नोमुख भइसकेको थियो अहिले
ज्योतिषविद्यामा केही बाँकी थिएन उसलाई सान्त्वना दिन सक्ने ।
र कविलाई भेट्ने विचार गर्यो उसले
जान्न चाह्यो
आफू र आफ्ना प्राप्तिहरू र असफलताहरूलाई
कसरी हेरेको रहेछ कविले।
गम्यो र छान्यो एउटा कविलाई
झुकेर कुनै कविलाई भेटेको थिएन उसले त्यतिञ्जेल
तर त्यसबेला प्रतिकूल थियो समय,
त्यसैको अनुकूल ढाल्यो आफूलाई उसले ।
ढोकामा आयो त्यो कवि, जसलाई भेटन गएथ्यो हिटलर
स्वागत गर्यो उसको
बसायो आरामले
मुस्कायो
र सोध्यो कविले
उसले, एउटा कविले, के गर्न सक्छ उसका लागि ।
बुझ्दथ्यो हिटलर, झोँक चलाएर केही हुनसक्ने थिएन त्यसबेला ।
नम्र भएर सोध्यो उसले ।
के ऊप्रति कुनै गुनासो छ कविलाई?
के कथा पनि लेख्ने गर्छ ऊ?
मानिसले के बढी मनपराएका छन्, कथा कि कविता?
छिसिक्क मुस्कायो कवि, र भन्यो-
“हजुरको आदेशको तापले, हजुर,
लुगलुग काँम्दै भागे भएभरका कविताहरू;
र सबै रचनात्मक अभिप्रायहरू।
उज्यालो देख्न सक्दैन कुनै कविताले आजकल।
तैपनि, कल्पनाको खेल मनपराउनु हुन्छ हजुर भने
एकदुईटा कविता सुनाउन सक्छु म हजुरका लागि” ।
सुनेर बिच्कियो हिटलर ।
मुस्किलले सम्हाल्यो आफूलाई।
भद्दा शब्दहरूको अशिष्ट वर्षामा परिणत भयो उसको रीस ।
“मेरो हृदयभित्र जलिरहेछ मेरो देशको व्यथा ।
मेरो देशलाई थोपरिएको अपमान देख्दा ओठमुख सुक्छ मेरो ।
मैले सारा संसारसँग युद्ध लड्नुपर्ने हुन्थ्यो भने पनि,
आफ्नो पितृभूमिलाई कुनै दु:ख नदिइकन लड्ने थिएँ म
यो प्रतिज्ञा गरेको छु मैले आफैसँग
र पूरा गरिसक्नै लागेको छु मैले यसलाई ।
भाग्यले हो हामीलाई हराउने वा जिताउने ।
जे गर्ने हो सम्पूर्ण निष्ठाका साथ गर्नुपर्छ तर,
हजुरका कुरा किन यतिविघ्न विडम्बनापूर्ण?
सम्झिरहनुस्, हिटलरले आफूलाई मृत्युपर्यन्त आफूजस्तो बनाएन”।
कवि स्वच्छन्द हाँस्यो, र भन्यो,
“घाँसको एउटा त्यान्द्रो मात्र हो मेरो जीवन ।
मानव जातिको खेत-देशमा दाइँ गर्ने एउटा किशान हुनुहुन्छ हजुर ।
हजुरका अगाडि घाँसभन्दा धेर केही हुइनँ म ।
र मैले जे भनेँ, त्यही नै हो सत्यको मूल वीज”।
“यदि ओठहरू सिइए र हृदय रोकियो भने,
बतासमा फाल हान्नेछ कविले, र उसलाई सुनिने छ पनि।
हजुरलाई थाह छ, कर्मको बाटो डोहोर्याउँछन् शब्दले ।
मैले यो दोहोर्याइरहनु पर्दैन हजुरलाई, गोएबल हुँदाहुँदै।
लाखौँ निर्दोषको नरसंहारका बारेमा
के राय छ हजुरको, हजुर,
एक निमेष मै दिनु भएथ्यो जसको आदेश हजुरले?
कविका बारे कविको कुरा सुनेर
अलमल्लियो हिटलर, र रन्थन्नियो पनि।
रातो भयो उसको अनुसार जब यहुदीका बारेमा बोल्यो कविले।
हिटलर गर्जियो, “यहुदीको कुरा गर्दिनँ म ।
म काम मात्र गर्छु ।
जहाँसम्म नरसंहारको कुरा छ, नदेखाऊ मेरो दोष त्यसमा
भर्सेलिज, बिर्सनै नसकिने एउटा त्रुटी, नै
मूल कारण थियो त्यसको ।
बतास नै त्यस्तै छरिएको थियो त्यस दिन
र चक्रवातको बाली काट्दै छौँ अहिले हामी”
जवाफ फर्कायो कविले; “सर्पको दूलोमा,
एकआपसमा गुजुल्टिएर, ‘फ्वाँ’ गरिरहेछन् सर्प सर्प एकअर्कालाई ।
भर्सेलिज थियो मूल कारण भने,
के थिए नि भर्सेलिजका कारक?
शृङ्खलाको न त शुरूवात देखिन्छ न त अन्त्य नै।
भर्सेलिज नै कारक हो भने यदी,
भर्सेलिजका कारक हुन्- महत्वाकाङ्क्षा र लोभ ।
बेलायतको साम्राज्यवादी लोभले
जिब्रो लप्लप्याइदियो जर्मनीको पनि ।
यस दोस्रो विश्वयुद्धमा भएका सबै पाप
हजुरका टाउकामा मात्र थुपार्दिनँ म,
हजुर त केवल एउटा पात्र हुनुहुन्छ यस त्रासदीको,
सृष्टिकर्ता आफैँ नै हुन् यसको असली लेखक,
यद्यपी, हजुर खलनायक हुनुहुन्छ यसको।
यस दोस्रो विश्वयुद्धको स्वरूपलाई आकार दिने शब्दहरूमध्येको
एउटा शब्द हजुरमा टाँसिएको छ, हजुर!”
“के हो त्यो शब्द?” सोध्यो हिटलरले ।
सन्तोषको सास फेर्यो उसले
कविले उसलाई दोस्रो विश्वयुद्धको मुख्य दोषी नमानेकामा।
झनै बढ्यो उसको चाख ।
“असुर” कविले शान्तसँग भन्यो।
“के हो त्यो भनेको?” हिटलरले सोध्यो
“मेरो संस्कृत विज्ञलाई सोध्नुपर्ला”।
कविले उत्तर दियो: “असुर भनेको ‘राक्षस’।
राक्षस भनेको ठूलो दानव।”
“दानव?” विक्षिप्त भएर चिच्यायो हिटलर।
“हो, हजुर।” कविले भन्यो।
हिटलरले भन्यो: “हो, त्यही फरक छ दामे र चामेमा।
तर, होस्, छोड्दिऊँ।यसले मलाई दानव भन्ने!
हिमलर! गलहर्याएर बाहिर निकाल् यसलाई ।
उफ्! हिमलर त मरी पो सक्यो त।”
विवश स्वरमा बोल्यो हिटलर ।
कविले भन्यो, “चिन्ता नगर्नुस्, हजुर!
हजुरसँग कुरा गर्दा विचार पुर्याउनेछु अब म”
र भन्न थाल्यो, “महान प्रेरणा,
अनुशासित जीवन, आत्मसम्मान,
साहस, उत्साह
स्वभाविक गुण हुन् हजुरका ।
हजुर जुन अद्भुत तरिकाले बनाउनु हुन्छ आफ्ना योजना
र तिनलाई मूर्तरूप दिनुहुन्छ, तीन छक्क पर्छन् मानिसहरू
आफ्नो पितृभूमिप्रतिको हजुरको त्यस्तो निष्ठा देखेर
स्तव्ध भएका छन् उनीहरू ।
जुन तरिकाले हजुर एकपछि अर्को देश प्रवेश गर्नुहुन्छ
भूगोल पढाउने कुनै शिक्षकले
कक्षाकोठामा खेलौना ग्लोबलाई चलाएजस्तो लाग्छ त्यो ।
जर्मनीको पहिलेको प्रतिष्ठालाई पलभर मै पुनर्स्थापित गराउनु भएको छ हजुरले ।“
भनिर्ह्यो कविले;
“तर जुन तरिकाले हजुरमा भएको दानवले
हजुरको महामानव गुणलाई आफ्नो अधिनमा राख्यो
त्यसले गर्दा उब्जिएको हो यो आँधी ।
जसरी आफ्नो पितृ-देश छ हजुरको,
अरूको पनि आफ्नै छ।
र त्यसलाई माया गर्ने अधिकार छ तिनीहरूलाई
जति हजुर आफ्नोलाई गर्नुहुन्छ।“
चुपचाप सुनिरह्यो हिटलर कुनै पुराकथा सुनेजसरी ।
तर उसको आपराधिकताको कथा पनि थियो त्यसमा ।
“आफ्नो प्रतिष्ठा प्राप्त गर्न खोज्दा
कसरी बिर्सनु भयो हजुरले
मानिस एउटा पशु मात्र हैन भनेर,”
हिटलरले जवाफ दियो: “ अँ, अँ, यो चाहिँ मिल्छ,
यही कारणले मलाई दानव भनेको हौ तिमीले भने।
कसले के भन्यो भन्ने कुरा कसरी मेरो सरोकारको विषय हुन्छ?
मेरो अन्तरले जे अर्हायो, त्यही गरेँ मैले
र मेरो प्रेरणाले जता डोहोर्यायो त्यतै पुगेँ ।
कवि महाशय, लामो भाषण सुनायौ तिमीले मलाई।
“म त्यसभन्दा निकै धेरै रोमाञ्चक रहस्य बताउँछु तिमीलाई।
सम्पूर्ण मानव जातिबाट नै मुक्त हुन चाहन्थेँ म,
सखाप पार्न चाहन्थेँ अस्तित्वमा रहेका यी तमाम हिंस्रक जन्तुलाई
र कुनै नयाँ तेजस्वी जीव अस्तित्वमा आएको हेर्न चाहन्थेँ
जो म मर्नुभन्दा पहिल्यै जन्मी सकेका हुन्।
तर हुन सकेन त्यस्तो।
त्यस्तो हुन हुन्छ भनेर मानेन मेरो अन्तरआत्माले ।“
कविलाई भित्रैसम्म छोयो त्यो रहस्योद्घाटनले ।
“झिल्का देखिँदैछ अन्धकारको गहिराइमा ।
हजुरका गुणहरूले
आफूलाई जोतिरहेका दानवका जुवा फ्याँकेर,
हजुर आफू आफैँ भएको दिन, एउटा महान दिन हुनेछ।“
“त्यस्तो हुन पनि सक्छ, नहुन पनि!” हिटलरले भन्यो।
“म तिम्रो आस्थालाई श्रद्धा गर्छु, तिमीले मेरोलाई गरेकाले।
मेरा बारे तिम्रो अन्तिम निष्कर्ष के छ त?” सोध्यो उसले
“आफ्ना पाइला मृत्युतिर बढाउँछु् म अब ।“
कविले सोध्यो, “मेरो निष्कर्षले हजुरलाई के सन्तुष्टी दिन्छ, हजुर?”
हिटलरले जवाफ दियो;
“कवि मानिसहरूको अधिनायक हो भन्ने मान्यता रहेको छ मेरो ।
नागरिकहरूको मत प्रतिविम्वित हुन्छ उसमा ।
उसैलाई हेरिरहेका हुन्छन् हरेक कालका मानिसहरूका नजरले ।
संसारको नाटकमा भूमिका नै त्यही दिइएको छ उसलाई ।“
कविले भन्यो,” थोरै माने राख्दछ कवि के हुन् भन्ने हजुरको मान्यताले ।
ती सबैलाई जीवित राख्छ कविले ।
छोड्दिऊँ यसलाई । अब हजुर बारेको मेरो सोचाइले बोल्छ।
हजुरको शताब्दीको प्रमुख उदाहरणको रूपमा सम्झिनेछ
हजुरलाई इतिहासले।
अलेक्जेन्डर, हान्निबल, जुलियस सिजर, र
नेपोलियनको बराबर हुनेछ हजुरको स्थान।
मनिसले भन्नेछन्: ‘त्यो एउटा मान्छे
जसरी बाँच्यो, मर्यो पनि त्यसैगरी ।
कठीन सङ्घर्ष गर्यो त्यसले
आफ्ना सपना साकार पार्नका लागि ।
दागविहीन छैनन् घाम र जूनसमेत ।
सिङ्गै निल्न खोज्छन् काला ग्रहणले तिनलाई
राहु र केतूले जसरी
तर प्रकाश छिर्ने एउटा छिद्रको परिधिजति मात्र ।
मौन युगको एउटा महामानव हुनु भएको छ हजुर ।
र एउटा उल्टो भक्त।
एउटा खास दिन हुनेछ त्यो, जुन दिन
आफ्नो दानवताको काँचुलीलाई खोलेर फ्याँक्नु हुनेछ हजुरले ।
निस्कने तरखर गर्दै भन्यो हिटलरले:
“अब मृत्युअधिन हुन जाँदैछु म,
तिमीले भन्यौ, मेरा लक्ष्य गलत थिए र मेरा चित्कार पनि ।
मलाई एकरत्ति पनि चासो छैन तिम्रा मान्यताप्रति,
स्वीकार गर्दिनँ म तिनलाई।“
असहजताका साथ ढोकातिर लम्कियो ऊ।
उसका मनमा के भइरहेछ, बुझ्दथ्यो कवि, र भन्यो,
“चसो नरास्,
मेरा लागि मनग्ये गरिदिइसक्नुभएको छ हजुरले ।
इभा ब्राउनको मृत्युपश्चात्
अहिलेसम्म हजुरले भेट्नु भएको मान्छे म मात्र हुँ।
यसले सारा जगतभरि प्रसिद्ध बनाउने छ मलाई ।“
कविसँग बिदा भएर पितृ-शहरतिर लाग्यो हिटलर
मृत्युको छायाले घेरिइँदै
आफ्नो विनाशलाई भेट्न,, र
अमर भयो ‘असुर’ भनिने अलछ्छिन उपाधीका साथ।