दुःखको कोरस / सुदीप पाख्रिन
दौडँदै आई
युवती बादलहरु
इत्रिरहन्छन् — पठ्ठो ध्वजेसँग
खेलिरहन्छन् प्रीतिले भरिएको उसको छातीसँग
ध्वजेले पनि जिस्किँदै कुनै मायालु धून सुसेलिदिँदा
शरमले पानी पानी भई
तल....
सुसेल्दै बग्ने खोलाहरुसँग
कुनै आदिम धून गुन्गुनाइरहन्छन्— लजालु ती बादलहरु
माथि....
धेरै माथि.....
त्यो भन्दा पनि पुरानो
दुःखको काकाकुल कोरस
चुपचाप गाइरहन्छ— डाँडाबजार
दन्त्यकथाको कुनै दुःखद परिस्थितिजस्ता बाटाहरु हुँदै
बैशाख आउँछ आइसकेपछि तर
डाँडाहरुमाथि उभिएर प्रेमिल हुँदै
थुम्काथुम्कामा खुशीजस्ता हरिया रंगहरु पोतेर जान्छ
बैँश ओढेर उभिएका बोटहरुमाथि राता उमंग जस्ता गुराँसहरु छरेर जान्छ ।
हरिया खुशीहरुले
कतै कहीँ नछुनुको दुःखको कोरस
एकधुनले गाइरहन्छ तर — डाँडाबजार
सबैबाट टाढा... एकदमै टाढा रहि ।
राजधानीको मनजस्तो चिसो हावाको गुण्टा बोकेर
असोज आउँछ हुर्रा नाँच्दै, च्याबु्रंग बजाउँदै
बजारका मनभरि जमरासँगै चाडपर्व उमारेर जान्छ ।
नृत्यको उमंगले
कहीँ कतै ननचाउनुको पीडाको कोरस
एकतमासले गाइरहन्छ तर — डाँडाबजार
सबैबाट टाढा... एकदमै टाढा रहि ।
दुःखको काकाकुल कोरस
एकधुनले गाइरहन्छ— डाँडाबजार...
चूपचाप... !
चूपचाप...!!
(धनकुटाको डाँडाबजारमा डाँडाबजारलाई नै विषय बनाई रचिएको कविता । ध्वजे त्यहीँको एक सबैभन्दा अग्लो डाँडा हो ।)