Last modified on 3 फ़रवरी 2015, at 16:02

दुई सेता कलिला हत्केलाको परेवा : तिम्रो नमस्ते / भूपी शेरचन

कौसीमा उभिएर लज्जानत
तिमीले मतिर गुलाफी हतारमा उडाएको
दुई सेता कलिला हत्केलाको परेवा : तिम्रो नमस्ते
दिनभर
मेरा आँखाको आकाशभरि
तिम्रो कौमार्यको सेता पखेटा फिँजाएर उडिरहन्छ
साँझभरि
मेरो हृदयको क्षितिजभरि
तिम्रो कैशोर्यको गुलाफी रङ्ग छरिरहन्छ
रातभरि
मेरो निद्राको दलिनभरि
तिम्रा सप्तरङ्गी चुराहरुको बुट्टा जडिरहन्छ
र सधैँभरि
सधैँ–सधैँ सधैँभरिको निम्ति
मेरो मुटुभरि
मेरो परेलाभरि
मेरो ढुकढुकीभरि
तिम्रो एकलासपनाको अस्फुट प्रार्थना।
खित्काहरु भरिरहन्छ।
दुई सेता कलिला हत्केलाको परेवा :
तिम्रो नमस्ते।