देवकोटाप्रति / निमेष निखिल
सपनामा
आज पनि आउँछन् लक्ष्मीप्रसाद
र फूलमार चुरोटसँग विनिमय गर्छन्
कविताका बिटाहरू।
हिँड्दाहिँड्दै ल्हासा बजारमा
पे्रममुग्ध हुन्छ मदन
वियोग खप्दै
पीडा बाँचिरहन्छे मुना
खै, कसले लुट्यो मानवता ?
दन्त्यकथामा बाँचिरहेछन्
सहृदयी भोटे अनुहारहरू।
तैपनि कुञ्जिनीहरू जन्मेकै छन्
सुलोचनाहरू हुर्केकै छन्
केवल भोक मरेको छैन
कवि जुठ्यानबाट आज पनि
बसाइँ सरिरहेछन् मुसाहरू।
देवकोटा!
उही पीडा विद्यमान छ
क्यान्सरग्रस्त वर्तमानमा
हामी सबै यति बेला
हजार बिच्छीले टोकेको अनुभव बाँच्दै छौँ।
केवल आशका त्यान्द्राहरू
फैलेका छन् असरल्ल
एउटा क्षितिजदेखि
अर्को क्षितिजसम्म
निर्विकल्प मनस्थिति च्यापेर
अपूरा सपनाहरूको
बिस्कुन हालिरहेछौँ हामी।
र
मुनामदनमा एकपल्ट फेरि
भोटे अनुहार खोजिरहेछौँ हामी।