देश र ब्यूटीपार्लरकी सुन्दरी / श्यामल
अब कहाँ जाने?
केश बनाइसकिएको छ
र दलिसकिएको छ अनुहारमा क्रिम
कपडामा छरिएको छ सेन्ट
र ऐनामा सयौँ पल्ट जुधेका छन्
आफ्नै आँखाहरु
श्रृङ्गार सकिएको छ
सुन्दरी, अब कहाँ जाने?
सडकमा
सलबलाइरहेछन् युवाहरु
सिकारको खोजमा
तिम्रो शरीरको आरोपित सुगन्धको
विषालु उन्माद
छरिनेछ हावामा
र पुग्नेछ उनीहरुको नाकसम्म
श्रृङ्गार सकिएको छ
सुन्दरी, अब कहाँ जाने?
जताततै फोहोर छ
भोकै छन् मानिसहरु
र तिम्रा बहिनीहरु सस्तोमा बेच्छन्
आफ्नो जवानी
मानिसहरु पछारिएका छन्
सडकमा
र झण्डा उठ्दै छ सहिदको
निर्जिव हातबाट
जताततै फोहोर छ
तिमी जति छर्क
आयातित पर्फ्युम अनुहारमा
जतिसुकै छर्क
झन्–झन् कुरुप हुँदै गइरहेको देख्दै छु म
भित्रभित्र धमिराले खाएको
काठको सुन्दर मूर्ति झैँ तिमी र यो देश
दुवै छन् यहाँ
तिम्रो श्रृङ्गार सकिएको छ
सुन्दरी, अब कहाँ जाने?