म अस्वाभाविक, असामान्य 	
कोमाटोग्राफीको अभावले छुट्टिन नसकेको एक रङ । 
मेरो आकाश शब्द बर्साउँछ 
धरातल बिम्ब उमार्छ
मिथकहरु जब्बर रात उधारेर 
फूर्तिला झिसमिसे झुल्काउँछन् 
यद्यपि म अनुभूत गर्छु आफूलार्इ 
छालले हिर्काएको किनारमा रुपान्तरित भइरहेको । 
अनिर्णीत आवश्यकताहरुको माला पहिरिँदै 
यहाँ जिन्दगीको दियो धिपधिप छ
यस बेलै भोक पनि सुतुरमुर्ग प्रतीत हुन्छ 
अपसोच ! भावना वर्तन बन्न सक्तैन 
भोजन हुन सक्तैन
तर पनि मित्र ! म त्यस्तो स्पर्श दिनेछु 
जस्तो, मरुभूमिमा चिसो बतासले देओस् 
पिडादायी घाउमा मल्हमले देओस् । 
तिमी अर्धनग्न नाच्दै पुलकित हुन्छौ 
म पातमा टल्किरहेको शीत हेरेर पुलकित हुन्छु
हामीमा फरक यत्ति हो 
तिमी यन्त्रवत् चल्छौ मदिरालयमा 
र नङ्ग्य्राइरहन्छौ सभ्यतालार्इ 
म धुमधुमती कविता खोप्छु 
त्यस्तो परिवर्तनका लागि 
जस्तो, पानी बर्सनासाथ खडेरी बिलाउँछ 
बादल फाट्नासाथ आकाश उज्यालिन्छ  । 
बादल आकाशमा तैरिएसरी 
यस बेला म भरियाको पीडामा तैरिरहेछु 
उता तिमी उपेक्षाका तरबार चम्काउँदै 
टुक्रयाइरहेछौ कलमलार्इ 
त्यसैले होशियार मित्र !
अहिले मेरो कविताको नदीमा आगो बगिरहेछ ।