भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

नदी किनारामा उभिएर / मौन आवाज

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

हेर्दैछु
बादल लागेको आकाश छ शिरमाथि ।

लाग्दैछ
मान्छे हिँडिरहेको छ
फराकिलो सडकमा
साँघुरो गल्लीमा
वा / कतै दुस्वप्नको बाटोमा !

आउला एकदिन
फूल फुल्ने याम
घमाइलो घाम
वा / परमधाम
यस्तै छ - चिन्तन !

केही दुखेको छ
कतै पोलेको छ
हृदय छट्पटीमा छ
आखिर यही त जीवन हो !

हेर्दैछु
भोग्दैछु
बग्दै आएको बुढो रुखको ठुटो
कुनै कमजोर घरको दलिन होला
वा / मुर्दाघाटको काठ होला
वा / आफ्नै मृत लास होला !

नदी किनारामा छु
बग्ने ठाउँमा छु
बगाउने ठाउँमा छु ।

बस्छु
जान्छु
केही ठेगान छैन !

आउँदा आएको थिएँ
जाँदा जानेछु ।

परबाट कोही आउँदैछ
नजिकबाट कोही जाँदैछ !

चेतना शून्य छ
शून्यमा चेतना छ ।

खुसीको एउटा सानो संग्रह
खोल्सामा छ
उता आँशुको विशाल समुद्र छ !

उठेको छाल साम्य हुनेछ
दुखेको घाउ निको हुनेछ ।

निर्धक्क सास फेर्छु भन्छु
हावा बहने दिशा बद्लिन्छ
दृश्य बद्लिन्छ
टाउको घुम्छ भूमरीको गति भन्दा दोब्बर -
- तेब्बर - चौब्बर - पचब्बर !

क्षणमै भीषण वर्षात हुन्छ
नदीको आकार बद्लिन्छ
सायद / जिन्दगी अब डुब्छ !

हेर्दैछु
पाउमुनि भास्सिंदै गएको जमीन छ !

चराहरूको पखेटा झरेको छ
यादहरू यहीं छन्
म कता जाने होला ?

लाग्दैछ
मजस्तै नदी किनारामा उभिएर
तिमी केही सोच्दै छौ !

लाग्दैछ
मजस्तै जीवन किनारामा उभिएर
तिमी केहि सोच्दैछौ !


०००