नयाँ कविता / मनु बालिगर / सुमन पोखरेल
अझै एउटा कविता लेख्नुछ
कुनै भयङ्कर विप्लव नै शुरू गर्नुपर्ने हैन ।
न त कुनै स्वच्छ, न्यानो
वा मनोरम स्वर्ग सिर्जना गर्नु पर्ने नै हो ।
न त अगुवा नै बन्नु पर्ने हो
कुनै नयाँ युगको ।
केवल आफूभित्र रहेको एक खाले नयाँपन अनुभूत गर्नुछ
र भत्काउनु छ जीवनको एकोहोरो लयलाई ।
एउटा नयाँ कविता लेख्नु छ
जसरी सूर्य उदाउने गर्छ एउटा नयाँ शिशु जन्मिएझैँ
जसरी मुस्काउँछ जून बाटाभरि
मैले कहिल्यै नभोगेका र नदेखेका
जीवन र जगतका पाटाहरू बाँच्न दिनका लागि
अतीतका मैलाहरू पखाल्नका लागि ।
केही दागहरू नगएर बाँकी नै रहे पनि ।
अनवरत युद्धमा छन् विगत र वर्तमान
तर नौला पाइला चाल्न जरूरी छ निरन्तर
केही हिँडाइ तिनका प्रतिबद्धतासँग मेल खाने हुन्छन्
धेरै यात्राले आस्थासँग मेल खानु असम्भव छ
कर्म गर्ने नयाँ तरिका खोज्दछन् अरू केही पाइलाहरूले
विविधता नै हो जीवनको रीति
तर थाह पाउँदैन त्यसबारे कविताले ।
मुस्किलले फेरिनेछन् वरिपरिका चिजहरू
मैले आफ्ना हात बाँधेर बसिरहे,
धमीराको गुँडले पुरिनेछु म
र घेरिनेछु अधर्मीहरूका सन्तानबाट ।
केही सीमितता होऊन्,
जसभित्र तरङ्गित होस् एउटा नयाँ कविता
कुनै निश्वास उठेझैँ
र खुकुलो होस् हृदयको गह्रौँपन
वाष्पीकृत भएर जाओस् मष्तिस्कमाथिको दवाव ।
एउटा नयाँ कविताका लागि
यी सबैले झङ्कृत गराउँछन् मभित्रको कुनै तारलाई ।